
काठमाडौँ– मेटलाइफ फाउन्डेसनले अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) लाई नेपालमा कोरोना संक्रमितबाट प्रभावित असहाय व्यक्तिका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ।
एएनएमएफ सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पुर्याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकद्वारा स्थापना गरिएको एक गैरनाफामूलक संस्था हो।
मेटलाइफ फाउन्डेसनको सो अनुदानले एएनएमएफलाई देशका विभिन्न स्थानमा सञ्चालित आइसोलेसन केन्द्र तथा अस्पतालमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटरलगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ।
उच्च संख्यामा बढिरहेका गम्भीर अवस्थाका बिरामीका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले एएनएमएफलाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनीकरण गर्न थप सक्षम बनाउन मद्दत गर्नेछ।
मेटलाइफ नेपालका महा प्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, ‘आवश्यकताको यस घडीमा हामी सबै अहिलेको विश्वव्यापी महामारीबाट प्रभावित मानिसको स्वास्थ्य र जनहितका लागि हरसम्भव प्रयास गरिरहेका छौँ।’