
काठमाडौँ- आफ्नो निर्देशन पालना नगरेको र निर्णायक मोडमा विपक्षीलाई साथ दिएको निष्कर्षसहित एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका माधवकुमार नेपाल पक्षका २७ जना नेताहरुलाई निष्कासनको तयारी गरेका छन्।
बालुवाटारमा शनिबार सुरु भएको आफू पक्षीय स्थायी कमिटी बैठकबाट उनको तयारीलाई औपचारिकता दिइने उनी निकट एक स्थायी कमिटीले सदस्यले जानकारी दिए।
उनले भने, ‘पार्टी ह्वीप उल्लंघन गर्ने, विपक्षीलाई साथ दिनेहरु कारवाहीमा पर्नु स्वाभाविक हो। त्यसैको तयारी भइरहेको छ।’
प्रधानमन्त्री ओलीले शुक्रबार नै एक कार्यक्रममा नेपाल पक्षलाई इंगित गर्दै आफ्नै दलका नेताहरु बिक्री भएको आरोप लगाएका थिए र त्यसको राम्रै हिसाबकिताब हुने चेतावनी पनि उनले दिएका थिए।
नेता नेपालसहित २७ जना एमाले सांसदले शुक्रबार विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गरी नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको दाबीमा हस्ताक्षर गरेका थिए। यसबाट अन्तिम समयमा आएर नेपाल पक्षका नेता योगेश भट्टराईले भने हात झिकेका थिए।
ओलीले भट्टराई बाहेक २७ जनालाई स्पष्टीकरण सोधेर जबाफ चित्तोबुझ्दो नभएको भन्दै निष्कासन वा सिधै निष्कासनका निर्णय पनि गर्न सक्ने उनी निकट ती नेताको भनाइ छ।
ओलीले भने आफ्ना विरोधी एमाले र जसपाका सबै सांसदहरुलाई समेटेर १५३ जना सांसदहरुलाई देखाएर आफूले पनि नयाँ सरकारका लागि दाबी प्रस्तुत गरिएको भनिएको छ। तर त्यसबारे प्रमाण सार्वजनिक नहुँदै ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान १ बजेर ४९ मिनेटमा संसद भंग भएको घोषणा गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्।
सत्ता निरन्तरताका लागि पछिल्लो पटक ओली नेपाल पक्षसँग झुके जस्तो गरेपनि अन्तिममा उनले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा आफू निकट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मत नदिएको भन्दै नेपाल पक्षसँग इबी साँधेका छन्।
शुक्रबारको घटनाबाट ओलीले नेपाल पक्षलाई आफूसँगै राख्न नसक्ने स्थिति उत्पन्न भएको उनी निकट नेताहरुलाई बताएका छन्।
शनिबार केहीबेर अघि सुरु भएको ओली निकट स्थायी कमिटी सदस्यहरुको बैठकले नेपालसहितका सांसदलाई कारवाहीको निर्णय गर्ने तयारी गरेको हो।