भेन्टिलेटर नपाएर पति गुमाएकी सविताको घर पनि पहिरोको जोखिममा

भेन्टिलेटर नपाएर पति गुमाएकी सविताको घर पनि पहिरोको जोखिममा
+
-

काठमाडौँ – लगातारको पानी रोकिने संकेत छैन। गाउँमा पहिरो जान थालेको सुनेसँगै गोरखा सहिद लखन गाउँपालिका ताक्लुङ्गकी ३८ वर्षीया सविता लामिछानेको मन चिसिएको छ।

भिरालो पाखामा उनको घर जतिबेला पनि पहिरोको जोखिममा छ। घरमुनिको कच्ची सडक पनि उनका लागि अभिशाप बनेको छ। कृषिका नाममा पहाड उधिनेर बनाइएको सडकले उनको आँगन काटेको छ।

आँगन जोगाउन सविता लागिपरेकी थिइन्। गाउलेसँग गुहार माग्दै थिइन्। तर पति बाबुरामले भनेका थिए, ‘छाडिदेऊ। चिन्ता नगर। काठमाडौँमा घर बनाऔँला। अब एक/दुई वर्षको कुरा हो।’

तर, ती एक/दुई वर्ष बाबुरामले सोचेभन्दा धेरै फरक खालका सावित भए। बाबुरामलाई कोरोनाले ढाल्यो। समयमै आवश्यक उपचार पाएको भए शायद बाबुराम बाँच्थे र उनी आफ्नो सपना पछ्याउन सफल हुन्थे।

अहिले शायद उनको परिवार पहिरोसँग पनि जुध्ने दिन आउँथेन। पहिरो आएमा कसरी बाच्ने र कसरी सहयोग जुटाउने अहिले सविताको प्राथमिकता बनेको छ।

गाउँमा घर छरिएका छन्। पहिरो आउँदा छिमेकीको सहयोग पाउन मुस्किल छ। भर्खरै बाबुरामको काजकिरिया सकेकी सविताले भिडियो कलमा भनिन्, ‘श्रीमान् भइदिएको भए यस्तो संकटमा पर्ने थिएनौँ। चाँडै घर बनाउन नसके पनि कम्तीमा एउटा कोठा लिएर त हामीलाई जोगाउनुहुन्थ्यो।’

स्थानीय सिंजाली माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम वैशाख २१ गतेबाट बिरामी परेका थिए।

सुरुमा स्थानीय मेडिकलको उपचारमा भर परे उनी। परिवारलाई आफू ठिकै भएको बताइरहे। तर, उनलाई वैशाख २८ गते अचानक ज्वरो आयो। सविताले तत्कालै गाउँपालिकामा खबर गरिन्।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाए गाउँपालिकाका प्रतिनिधिले। यता, बाबुरामको बिमार बढ्यो। त्यसपछि सिधै पतिको उपचारका लागि काठमाडौँ ताकिन् सविताले। गाउँपालिकाले एम्बुलेन्स मिलायो, सविताले भाडा तिर्ने गरी।

आफन्तको सल्लाहअनुसार सविताले बाबुरामलाई सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) पुर्‍याइन्। सविताले भनिन्, ‘त्यो राति अस्पतालले अक्सिजन दियो। तर उहाँलाई जाँच्न डाक्टर आउनु भएन। भोलिपल्ट बिहान डाक्टहरू त आउनुभयो तर यहाँ अक्सिजन सकियो तपाईंको बिरामीलाई अन्त लग्नुहोस् भन्नुभयो। उहाँलाई भेन्टिलेटर पनि आवश्यक छ भनियो।’

अत्तालिएकी सविताले बाबुरामलाई अर्को निजी र महँगो अस्पताल लैजाने आँट गरिनन्। घरबाट बोकेको खर्च रित्तिसकेको थियो। आफन्तले सल्लाह दिए, ‘टेकु लैजाऔँ। सरकारी अस्पताल हो भेन्टिलेटर पनि पाइएला।’ केही आशा र भरोसासहित सविताले बाबुरामलाई तत्कालै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याइन्।

तर, अस्पतालको माहोल उनको अपेक्षा भन्दा भिन्न थियो। बिरामीहरू भुईँमै थिए। अक्सिजनको सहयोगमा सास फेरिरहेका थिए। त्यसदिन आकस्मिक कक्षको ढोका छेउछाउ मात्रै ३९ जना बिरामी थिए। कोही भुइँमा, कोही म्याटमा, कोही कुर्सीमा त कोही बेन्चमा। त्यसैदिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्क भनेका थिए, ‘अस्पतालमा बेडको खासै कमी छैन। सबै ठाउँमा बेडसहित अक्सिजन उपलब्ध छ। बाहिर फैलाइएको भ्रम मात्रै हो।’

अस्पतालको दृश्यले सवितालाई एकाएक शिथिल बनायो। तैपनि उनले हार खाइनन्। चिकित्सकले अस्पतालमा उपलब्ध सेवाको दायरामा बाबुरामलाई राखे। हतारहतार उनीहरूले बाबुरामलाई अक्सिजन दिए, भुइँमा एउटा म्याट ओछ्याएर।

तर, बाबुरामलाई भेन्टिलेटरको आवश्यकता थियो। वास्तवमा उनको साथमा अक्सिजनबाहेक सविता र चिकित्सकका हात मात्रै थिए। भेन्टिलेटर पाउने सम्भावना थिएन। सबै भेन्टिलेटरमा बाबुरामजस्तै बिरामीले भरिभराउ थिए।

टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल परिसरमा भुईँमा म्याट ओछ्याएर बाबुरामको उपचार गरिँदै। सँगै सविता बसिररहेकी छन्।

अर्को अस्पताल खोज्न असमर्थ थिइन् सविता। चिनेजानेको र सहयोग दिने कोही थिएन। बाँचिन्न कि क्या हो भन्दै रातभरि रोएका थिए बाबुराम। त्यसो नभन्नू भन्दै बाबुरामलाई थमथमाउनुको विकल्प थिएन सवितासँग। अन्ततः भोलिपल्ट बिहान उनले बेड पाए। तर, त्यहीँ अन्तिम सास फेरे बाबुरामले। त्यतिन्जेलसम्म बाबुरामको कोरोना परीक्षणको रिपोर्ट सविताको हातमा परेको थिएन। सेनाले बाबुरामको शव लगेन व्यवस्थापनका लागि।

सविता आफैँले बाबुरामको दाहसंस्कारको जिम्मेवारी लिनुपर्‍यो। पशुपति आर्यघाटमा बाबुरामको दाहसंस्कार गरेपछि मात्रै उनी चिच्याउनसम्म चिच्याइन्, एक्लै। पीडाको विस्फोट थियो त्यो। घर फर्कंदै गर्दा मात्रै सवितालाई खबर आयो, ‘बाबुरामको रिपोर्ट पोजेटिभ आयो।’

बाबुरामको दाहसंस्कार गर्न र घर फर्कन सवितालाई कतारमा रहेकी बहिनीले ५० हजार पठाएकी थिइन्। बाबुरामको रिपोर्ट चाँडै आएको भए बाबुरामको शव व्यवस्थापनमा शुल्क बच्ने थियो। सविताले भनिन्, ‘स्वाब संकलन गरेको ९ दिनपछि रिपोर्ट आयो। त्यसको कुनै अर्थ रहेन।’ अहिले सविता आफ्नो आँसु सकभर हुर्कंदै गरेका आफ्ना छोरीसँग लुकाउने प्रयासमा छिन्।

वियोगको पीडा र परिवार पोषणको चुनौतीको चेपमा छन् उनी अहिले। शुक्रबार पहिरोको जोखिममा परेको घर देखाउँदै उनले ‘भिडियो कल’मा भनिन्,‘ उपचार नपाएर श्रीमान् बित्नुभयो। जति रुनु छ रोइसकेँ। अब मलाई छोरीहरू कसरी बचाउने भन्ने चिन्ता छ।’

१६ वर्षीया जेठी छोरी कृतिलाई नर्स बनाउने इच्छा थियो बाबुरामको। महामारी नफैलिएको भए कृतिले यतिन्जेल पढाइ सुरु गर्थिन् सायद। गाउँकै स्कुलमा पढ्दै आएकी १० वर्षीया कान्छी छोरीको भविष्य के होला?’

बाबुरामले सरकारी स्कुलमा पढाएर २२ वर्ष बिताए।

उनले भनिन्, ‘श्रीमान्‌लाई बचाउन सकिनँ। अब घर र छोरीहरू कसरी बचाउने? सहयोग गर्ने कोही छैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?