नेपाली फुटबल टोलीमा परिवर्तन आएकै हो ? १८ महिना र ७ खेलमा गोलविहीन, त्यसपछि लगातार तेस्रो खेलमा गोल

नेपाली फुटबल टोलीमा परिवर्तन आएकै हो ? १८ महिना र ७ खेलमा गोलविहीन, त्यसपछि लगातार तेस्रो खेलमा गोल
+
-

काठमाडौं- सन् २०१९ को सेप्टेम्बरपछि नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीलाई पहिलो अन्तर्राष्ट्रिय गोल र जित हात पार्न १८ महिना लाग्यो।

विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत चाइनिज ताइपेईलाई २-० गोलले हराएपछि नेपालले डेढ वर्षसम्म जित त परै जाओस्, गोल पनि गर्न सकेको थिएन। केही महिनाअघि घरेलु मैदानमा आयोजित त्रिदेशीय आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा नेपालले गोल गर्‍यो र २-१ गोलको जित पनि हात पार्‍यो। त्यसअघि लिग चरणका दुवै खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो, कीर्गिजस्तानको यू-२३ राष्ट्रिय टोली र बंगलादेशको सिनियर राष्ट्रिय टोलीसँग।

बंगलादेशविरुद्ध भएको फाइनलमा नेपालका सन्जोग राई र विशाल राईले गोल गरेका थिए। सन्जोगले पहिलो गोल गरेका थिए।  नेपाली राष्ट्रिय फुटबल टोलीमा सिनियर खेलाडीहरु विस्तारै विस्थापित हुँदैछन्। अनुभवी  विक्रम लामा घाइते छन्। नेपाली फुटबलले निकै आशा गरेका विमल घर्तीमगर पनि उपचारपछि आराम गर्दैछन्। टोलीमा स्थान बनाउन छाडेपछि विराज महर्जनले केही महिनाअघि सन्न्यासको घोषणा गरेका थिए। पछिल्लो ४/५ वर्षमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका खेलाडीको प्रभाव बढ्दै नेपाली राष्ट्रिय टोलीमा।

त्रिदेशीय आमन्त्रण फुटबलपछि विश्वकप छनोटका लागि नेपालले प्रशिक्षकका रुपमा अब्दुल्लाह अल्मुताइरीलाई भित्र्याएको थियो। उनको पहिलो प्रतियोगिता थियो, विश्वकपको एसियाली छनोटका बाँकी खेलहरु। यी खेलहरु कुवेतमा आयोजना हुँदै थिए र नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी थियो। त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल पक्का भयो। प्रशिक्षक अल्मुताइरीले घोषणा गरेको टोलीमा भरत खवास, सुजल श्रेष्ठ, रन्जित धिमाल, विकेश कुथुले स्थान बनाउन सकेनन्। केही नयाँ अनुहारहरुले स्थान पाए। पुजन उपरकोटी, गौतम श्रेष्ठ, सन्तोष तामाङ, मनिष डाँगीलगायत पहिलो रोजाइका खेलाडी त्यस्ता अनुहार हुन्।

इराकविरुद्ध उतारिएको खेलमा पनि उनले नयाँ खेलाडीहरुलाई पहिलो रोजाइमै स्थान दिए।  अनुभवी विशाल राई र प्रतिभावान मानिएका विकास खवासले पहिलो रोजाइमा स्थान बनाउन सकेनन्।  गोलरक्षक किरणकुमार चेम्जोङ र रक्षक रोहित चन्दबाहेक नेपाली टोलीमा पहिलो रोजाइमा परेका अन्य केही खेलाडीहरु पछिल्लो ५/६ वर्षको अनुभव भएका र अन्य सबै नयाँ थिए।

टोली घोषणा हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीको छनोटलाई लिएर प्रश्न उठेको थियो। सामाजिक सञ्जालमा अल्मुताइरी निकै सक्रिय देखिन्छन्। एएफसी प्रो लाइसेन्स प्राप्त यी प्रशिक्षक नेपाली फुटबल समर्थकलाई शान्त बनाउन स्टाटस लेखिरहन्छन्। यसअघि नेपालले प्रो लाइसेन्स प्रशिक्षक पाएको थिएन।

इराकसँग खेल्न गएपछि उनले फेसबुकमा लेखेका थिए- हाम्रा खेलाडी र नतिजाप्रति संयम रहन म सबैलाई अनुरोध गर्दछु।  हामी नयाँ मानसिकता र पद्धतिको प्रयोग गर्ने छौँ। सुरुवातमा यसको कार्यान्वयन गाह्रो हुन सक्छ। खेलाडीहरुलाई नतिजाका लागि दबाब नदिनुस्। हामी उज्वल भविष्यका लागि काम गरिरहेका छौँ। यदि नतिजा हाम्रो पक्षमा आएन भने खेलाडीलाई होइन, मलाई गाली गर्नुस्।’

कुवेतमा प्रशिक्षणका क्रममा कप्तान किरनकुमार चेम्जोङसहितका खेलाडी।

अल्मुताइरीले यसअघि कुवेत र साउदी अरबका क्लबलाई प्रशिक्षण गरेका छन् भने उज्वेकिस्तानको यू-१६ राष्ट्रिय टोली पनि सम्हालेका छन्। यसअघि सन् २०११ मा ग्राह्म रोबर्टस प्रशिक्षक बनेर आउँदा पनि उनको चर्चा बढेको थियो। उनको प्रशिक्षकमा नेपाल साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्म पुगेको थियो भने एएफसी च्यालेन्ज कपका लागि छनोट भएको थियो।

सन् २०१२ मा घरेलु मैदानमै आयोजित एएफसी च्यालेन्ज कपमा नेपाल समूहका तीनवटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिरिएपछि रोबर्टसले राजिनामा दिएका थिए, करिब एक वर्षको कार्यकाल। उनको प्रशिक्षणमा नेपाल विश्वकपको एसियाली छनोटमा पहिलोपटक दोस्रो चरणमा पनि पुगेको थियो। सन् १९९३ यता नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकिरहेको थिएन।

तर सन् २०१६ मा नेपाली  सिनियर राष्ट्रिय टोलीले लगातार दुईवटा प्रतियोगिता जितेको थियो बंगबन्धु गोल्डकप र सोलिडारिटी कप, यू-२३ राष्ट्रिय टोलीले दक्षिण एसियाली खेलकुद-साग स्वर्ण पनि। त्यसभन्दा ठिक केही समयअघि राष्ट्रिय टोलीका कप्तान सागर थापासहित केही खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए।  बंगबन्धु गोल्डकपमा भने बंगलादेश र बहराइनका यू-२३ राष्ट्रिय टोली थिए भने एउटा क्लब पनि थियो।

त्यसैले नेपालले २३ वर्षपछि जितेको पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि भने सोलिडारिटी कपलाई लिने गरिन्छ। साग फुटबलमा स्वर्ण पनि नेपालले २३ वर्षपछि नै जितेको थियो। त्यतिबेला सिनियर टोलीका धेरै खेलाडी यू-२३ टोलीमा पनि पनि थिए। बंगबन्धुमा बालगोपाल महर्जन, सागमा राजुकाजी शाक्य र सोलिडारिटी कपमा कोजी ग्योतोकु रहेका थिए। त्यसयता सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक रहेको छैन। नेपालले पछिल्ला १९ खेलमा ३ जित, २ बराबरी र १४ हार ब्यहोरेको छ। यसमा कीर्गिस्तानको यू-२३ राष्ट्रिय टोलीसँग भएको खेल भने समावेश छैन। यही कारण अल्मुताइरीबाट आशा बढेको छ।

इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालको हार स्वभाविक थियो। ६ गोल ब्यहोरे पनि नेपाली खेलाडीले पनि २ गोल गरे। यही नै उल्लेखनीय रह्यो। विश्वकप छनोटको खेलमा नेपाली टोलीले बिहीबार राति चाइनिज ताइपेईलाई २-० गोलले हराएको छ। यसले नेपाल समूहको चौथो स्थानमा रहने पक्का जस्तै भएको छ।

एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा रहेका ८ समूहका चार वटा बेस्ट चौथो टिम एसिया कप छनोटको तेस्रो चरणमा पुग्नेछन्। नेपाल त्यसकै लागि संघर्षरत छ। त्यो भन्दा पनि ठुलो कुरा नेपाली टोलीले लगातार खेलमा गोल गरिरहेको छ किनभने खेल जित्न गोल गर्नुपर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?