
काठमाडौँ – नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन्।
अर्थ मन्त्रालयमा पदबहालीपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए।
उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गर्ने जानकारी दिए।
पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिनेसम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन्। जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ छुट्ट्याइएको छ।