
काठमाडौँ- आफू पक्षीय स्थायी कमिटी बैठक लगत्तै एमाले नेता माधवकुमार नेपाल विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलखण्ठ पुगेका छन्।
आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय आफू पक्षीय स्थायी कमिटी बैठकबाट गरेलगत्तै उनी देउवानिवास पुगेका हुन्।
यसअघि सोमबार बिहान नेता नेपालसँग विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको प्रस्तावबारे छलफल गरेका थिए। त्यसक्रममा नेपालले अब ओलीसँग मिल्ने सम्भावना सकिएको भन्दै विपक्षी गठबन्धन कायमै रहनेमा आश्वास्त पारेका थिए।
ओलीले आइतबार राती एमाले एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यसबारे धारणा बनाउन नेता नेपालले आफू पक्षीय स्थायी कमिटीको भर्चुअल बैठक डाकेका थिए। ओलीले पार्टी एकताका लागि सर्वोच्च अदालतामा दिएको रिट निवेदनको हस्ताक्षर फिर्ताको शर्त नेपाल खेमा समक्ष अघि सारेका थिए।
ओलीले यो प्रस्ताव पार्टी एकता लागि भन्दा पनि आफूविरुद्धको मोर्चाबन्दी भत्काउनका लागि अघि सारेको निष्कर्ष बैठकमा निकालिएको छ। विपक्षी नेपाली काँग्रेस, नेकपामा माओवादी केन्द्र लगायत विपक्षी दलहरुले पनि ओलीको यो प्रस्तावलाई ‘भ्रमणपूर्ण’ र ‘चालबाजी’को रुपमा लिएका छन्।
स्रोतका अनुसार नेपाल देउवा निवास पुगेको केहीबेरमा प्रचण्ड पनि मिसिएका छन्।