
काठमाडौँ– कोरोना भाइरस संक्रमित वा संक्रमितको सम्पर्कमा आएका बालबालिकामा ‘मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ देखा पर्न थालेको छ।
के हो ‘मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ ?
‘मल्टी–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ भनेको कोरोना भाइरस संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो। यो सामान्यतया कोरोना भाइरस संक्रमित भएको २ देखि ४ हप्तापछि देखा पर्छ।
यसका लक्षण
– आँखा रातो हुनु
– ज्वरो आउनु
– श्वास फेर्न गाह्रो हुनु
– पखाला लाग्नु
– छाला, ओठ वा नङ नीलो हुनु
– घाँटी दुख्नु
– शरीरमा डाबर आउनु
– पेट दुख्नु
– थकान महसुस हुनु
कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा र उल्लिखितमध्ये कम्तीमा पनि अन्य कुनै दुई वटा लक्षण देखा परे तुरुन्त अस्पताल लैजानुपर्छ।
बालबालिकामा यस्ता लक्षण देखा परे के गर्ने ?
यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन। तर, यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ। त्यसैले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउने गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।