
काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेड र इङ्वा जलविद्युत् लिमिटेडबीच अपर इङ्वा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा ०७८ जेठ ३१ मा हस्ताक्षर भएको हो।
९.७ मेगावट उत्पादन क्षमता रहेका अपर इङ्वा जलविद्युत् आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड छ।
इङ्वा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ।
उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहनेछ। आयोजनामा कुल लागतको ७५% बैंक कर्जा बापतको लगानी रहनेछ भने बाँकी २५% इङ्वा जलविद्युत् लिमिटेडको लगानी रहनेछ। आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सबस्टेसनमा जोडिनेछ।
सबस्टेसनसम्मको आवश्यक १६ किमि लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ।
साथै, यस कर्जा लगानीपश्चात् यस जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामै आयोजना निर्माण सम्पन्न हुने विश्वास बैंकले लिएको छ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ।
साथै, बैंक अफ काठमाण्डूका अनुसार नेपालको ऊर्जा क्षेत्र (सौर्य तथा जलविद्युत्) को विकासका लागि बैंकिङ क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रही विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ।