
काठमाडौँ – नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका, नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ।
त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ।
नेता महतले भने, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस्। संविधानको रक्षा होस्। र, त्यसमा जो पार्टी, व्यक्ति जोडिन चाहनुुहुन्छ, उहाँहरूलाई जोड्दै यसलाई अझ मजबुतसाथ अगाडि बढाउँछौँ ।’
संविधान, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने र वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य–मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएकाले त्यसविरुद्ध बृहत्तर एकता गर्न लागेको उनले बताए।
‘जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ती पार्टी र समूहलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ’, नेता महतले भने।
उनले कोरोना कहरका बेला कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिबारे छलफल भइरहेको जानकारी दिए।