
काठमाडाैँ – नेपाल उद्योग वाणिज्य महासंघले पूर्वउपाध्यक्ष हेमबहादुर प्रधानको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ।
पूर्व उपाध्यक्ष प्रधानको निधन असार १३ गते भएको थियो।
पूर्वउपाध्यक्ष प्रधान तत्कालीन गण्डकी अञ्चलको प्रतिनिधित्व गरी ०४१ सालमा महासंघमा प्रवेश गरेका थिए। चार वर्षको कार्यकालमा कार्यकारिणी समितिको सदस्य र ०४४–४७ कार्यकालमा महासंघको उपाध्यक्ष भएका हुन्।
महासंघसँग प्रत्यक्ष रूपमा पछि जोडिए पनि ०२५–२६ देखि नै महासंघका हरेक क्रियाकलापमा उनको सहभागिता थियो। महासंघमा विभिन्न पदमा रही सिंगो निजी क्षेत्र र मुलुकभित्र उद्योग व्यवसाय र अर्थतन्त्रको विकासमा पूर्वउपाध्यक्ष प्रधानले उल्लेख्य योगदान पु¥याएका थिए।
समाजसेवामा पनि त्यति नै सक्रिय प्रधान महासंघको सदस्य पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र पोखराका अग्रणी उद्यमीसमेत थिए।
महासंघको संस्थागत विकास र भौतिक पूर्वाधार निर्माणमा पनि उनको योगदान छ।
आफ्नो कार्यकालमा महासंघको प्रतिनिधित्व गरी विभिन्न देशमा भएका व्यापार भ्रमणका क्रममा नेपालको आर्थिक औद्योगिक, व्यावसायिक, श्रम, व्यापारका विषयमा सशक्त आवाज राख्ने गरेको महासंघले जनाएको छ।
प्रधानका एक छोरा र ५ छोरी छन्। पूर्वउपाध्यक्ष प्रधानको निधनबाट सिंगो निजी क्षेत्रलाई अपूरणीय क्षति पुग्न गएको छ भने महासंघले अग्रज गुमाएको छ।
दुःखको यस घडीमा सिंगो महासंघ परिवार, सोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना महासंघले गरेको छ।