
काठमाडौँ-नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पार्टी एकताका लागि गठित कार्यदल ब्यूँताउन सहमत भएका हुन्। नेपाल पक्षको माग अनुसार ओलीले कार्यदल ब्यूँताएका हुन्।
कार्यदलबाटै एमालेमा देखिएका विवाद अन्त्य गर्नुपर्ने माग नेपाल पक्षले राख्दै आएको थियो। कार्यदलको केहीबेर अघि सिंहदरबारमा बैठकसमेत सुरु भएको छ।
बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कार्यदलका सदस्यहरु सुबास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल सामेल छन्।
बैठक स्थलको स्रोतका अनुसार आजको यसअघि वार्ताका लागि प्रयासमा रहेका र ओलीका तर्फबाट कार्यदलका सदस्य रहेका विष्णु पौडेल सहभागी छैनन्। उनी बालुवाटारमा मन्त्रिपरिषद् बैठकमा सामेल भएकाले कार्यदलको बैठकमा भाग लिन नपाएका हुन्।
बिद्रोही पक्षका वरिष्ठ नेता माधव नेपालका तर्फबाट भने सबै सदस्यहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे सामेल भएका छन्।
आइतबार राति प्रधानमन्त्री ओलीसामू नेता रावलले कार्यदल ब्युँत्याएर छलफल अघि बढाउनुपर्ने माग अघि सारेका थिए। बालुवाटारमा ओली र रावलबीच झण्डै २ घण्टा वार्ता भएको थियो।स्रोतका अनुसार ओली त्यसमा सकारात्मक भएपछि त्यसबारे नेपाललाई जानकारी गराउन रावल सोमबार नेपाल निवास कोटेश्वर पुगेका थिए। त्यसमा नेपालले पनि सहमति जनाएपछि कार्यदल ब्यूँताउन ओली तयार भएका हुन्।
ओलीले कार्यदलका सदस्यहरुमध्ये भीम रावल सहित नेपाल पक्षका ११ जनालाई कारवाही गरेपछि कार्यदलको बैठक बस्न सकेको थिएन। ७ जेठमा यसको अन्तिम बैठक बसेको थियो।
३० वैशाखमा ओली र नेपालबीच काठमाडौँ चपली हाइटमा झन्डै चार घण्टासम्म भएको वार्ता भएको थियो।
उक्त वार्तामा दुई नेताबीच विवाद समाधानका लागि कार्यदल बनाएर अघि बढ्ने सहमति भएको थियो र २ जेठमा ओली र नेपालका तर्फबाट गरी १० सदस्यीय कार्यदल गठन गरिएको थियो। यसको पहिलो बैठक ४ जेठमा बसेको थियो।
तर १० जेठमा ओलीले पार्टीलाई घात गरेको निष्कर्ष निकाल्दै नेपालसहित ११ जनालाई पार्टी सदस्यसमेत नरहने गरी निकालेको थियो।