मेस्सीको अन्तर्राष्ट्रिय उपाधि पर्खाइ: ब्राजिलदेखि ब्राजिलसम्म!

मेस्सीको अन्तर्राष्ट्रिय उपाधि पर्खाइ: ब्राजिलदेखि ब्राजिलसम्म!
+
-

रियो दे जेनेरियो- दक्षिण अमेरिकाको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा आइतबार बिहान अर्जेन्टिना र ब्राजिल भिड्दैछन्।

लियोनल मेस्सीका कारण यो खेल बढी अर्थपूर्ण छ। १६ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय करियरमा मेस्सीका लागि पहिलो र सम्भवत: अन्तिम उपाधि जित्ने अवसर रहेको छ। सर्वाधिक ६ पटक फिफा वर्ष खेलाडी भएका मेस्सी ३४ वर्षको भइसकेका छन् र सम्भवत: अर्को कोपा अमेरिकामा उनी टोलीमा नरहन सक्छन्।

आगामी वर्ष विश्वकप हुने भएपनि पछिल्लो समय यो प्रतियोगितामा युरोपियन टोलीहरुको दबदबा देखिन्छ।

मेस्सी सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म पाँचौँपटक फाइनल पुगेका हुन् र यीमध्ये अघिल्ला तीनवटामा उनकै कप्तानी थियो। अर्जेन्टिनाले सन् १९९३ यता सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन।

अन्तिमपटक घरेलु मैदानमै कोपा अमेरिका आयोजना भएको बेला अर्जेन्टिनाले जितेको थियो, फाइनलमा अतिथि टोली मेक्सिकोलाई हराएर। त्यतिबेला अर्जेन्टिना उच्च लयमा थियो र लगातार अन्तर्राष्ट्रिय फुटबलमा फाइनल पुगिरहेको थियो।

सन् १९८६ को विश्वकप जितेको अर्जेन्टिना त्यसको चार वर्षपछि आयोजित उक्त प्रतियोगितामा फेरि फाइनल पुगेको थियो। सन् १९९१ मा आयोजित कोपा अमेरिकाको पनि उपाधि जितेको अर्जेन्टिनाले त्यसको एक वर्षपछि आयोजित फिफा कन्फेडेरेसन कप जितेको थियो भने त्यसको तीन वर्षपछि आयोजित उक्त प्रतियोगितामा फेरि फाइनलसम्म पुगेको थियो।

त्यसको करिब एक दशक भने अर्जेन्टिना फाइनल पुग्न सकेन, कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा। २००४ को कोपा अमेरिकामा आएर फाइनल पुग्यो। ब्राजिलमा आयोजित त्यस प्रतियोगितामा अर्जेन्टिनाले फाइनल टाइब्रेकरमा गुमाएको थियो, ४-२ गोलले। एक वर्षपछि मेस्सीले अर्जेन्टिनाका लागि यू-२० फिफा विश्वकप मात्र जितेनन्, सिनियर अन्तर्राष्ट्रिय फुटबलमा पनि डेब्यु गरेका थिए।

२००७ मा भेनेजुएलामा आयोजित कोपा अमेरिकामा अर्जेन्टिना फेरि फाइनल पुगेको थियो। मेस्सीको सिनियर राष्ट्रिय टोलीबाट पहिलो फाइनल यात्रा थियो। उनले क्वाटरफाइनल र सेमिफाइनल दुवैमा गोल गरेका थिए। तर ब्राजिल फाइनलमा बाधक बन्यो र अर्जेन्टिना ३-० गोलले पराजित भयो।

अभ्यासका क्रममा मेस्सी। फाइल तस्विर

ब्राजिल-अर्जेन्टिना भिडन्त अन्तर्राष्ट्रिय फुटबलमा ‘सुपर क्लासिको डास अमेरिकास’का रुपमा परिचित छ, जस्तो क्रिकेटमा पाकिस्तान-भारत भिडन्त  र क्लब फुटबलमा बार्सिलोना-रियल म्याड्रिड भिडन्तको छ। यी दुई टोली विश्व फुटबलका चिर प्रतिद्वन्द्वी हुन्। उपाधि जितेका हिसाबले अर्जेन्टिना कोपा अमेरिकाको दोस्रो सर्वाधिक टोली हो।

उरुग्वेभन्दा एक कम अर्थात १४ पटक जितेको छ अर्जेन्टिनाले उपाधि। यीमध्ये ८ वटा फाइनलमा ब्राजिललाई हराएको छ भने दुईपटक ब्राजिलसँग फाइनलमा पराजित भएको छ। अर्जेन्टिनाले सन् १९२१ मा पहिलोपटक कोपा अमेरिका जित्दा फाइनलमा ब्राजिललाई नै हराएको थियो। अर्जेन्टिनासँगका  पछिल्ला दुई फाइनल भिडन्त भने ब्राजिलले जितेको छ जसमध्ये एउटा हार मेस्सीले पनि अनुभव गर्नु परेको थियो। कोपा अमेरिकाको फाइनल पुगेको एक वर्षपछि  मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले सन् २००८ मा बेइजिङमा आयोजित ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो।

यू-२३ राष्ट्रिय टोलीले ओलम्पिक खेल्ने भएकाले मेस्सीबाट सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्ने आशा यसले थप बढायो। दुर्भाग्य सन् २०१० मा आयोजित विश्वकपमा डिएगो म्याराडोनाको प्रशिक्षणमा सहभागी अर्जेन्टिना क्वार्टरफाइनलबाटै बाहिरियो, जर्मनीसँग ४-० गोलको लज्जास्पद पराजयसहित। त्यसको एक वर्षपछि आयोजित कोपा अमेरिकामा पनि क्वाटरफाइनलबाटै बाहिरियो, उरुग्वेसँग टाइब्रेकरमा पराजित भएर।

यसपछि अर्जेन्टिनी टोलीमा केही सुधारका संकेतहरु देखा परे। बाटिस्टालाई हटाएर अलेजान्द्रो साबेल्ला प्रशिक्षक नियुक्त भए। साबेल्लाले त्यतिबेला २४ वर्ष मात्र उमेर भएका मेस्सीलाई कप्तानको जिम्मेवारी दिए। साबेल्ला आएलगत्तै राष्ट्रिय टोलीमा मेस्सीको करिब अढाई वर्षयताको गोल खडेरी टुंगियो।साबेल्ला आउनुअघिका प्रशिक्षकको मातहतमा ६१ खेल खेल्दै १७ गोल मात्र गरेका मेस्सीले उनको प्रशिक्षणमा भने ३२ खेलमा २५ गोल गरेका थिए।

गोल गरेपछि मेस्सी। फाइल तस्विर

सिनियर राष्ट्रिय टोलीबाट सन् २०१२ मा आएर पहिलो ह्याट्रिक गरेका थिए जुन स्वीट्जरल्यान्डविरुद्ध थियो। साबेल्लाकै प्रशिक्षणमा अर्जेन्टिना विश्वकपमा फाइनल पुग्यो, २४ वर्षपछि। ब्राजिलमा सन् २०१४ मा आयोजित त्यस प्रतियोगिताको फाइनलमा अर्जेन्टिनाले जर्मनीसँग अतिरिक्त समयमा पुगेर हार ब्यहोरेको थियो,१-० गोलले। सन् २०१५ मा चिली र २०१६ मा आयोजित कोपा अमेरिकाको फाइनलमा लगातार पुगेको अर्जेन्टिना दुवैपटक पराजित भयो चिलीसँग र दुवैमा टाइब्रेकरमा।

२०१९ मा ब्राजिलमा आयोजना भएको कोपा  अमरिकामा अर्जेन्टिना सेमिफाइनलबाटै बाहिरिएको  थियो, ब्राजिलसँग पराजित भएर। त्यसयता सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाले एक खेल पनि हारेको छैन र फेरी ब्राजिलमै आयोजना भइरहेको कोपा अमेरिकाको फाइनलमा पुगेको छ। यसबीचमा अर्जेन्टिना लगातार १९ खेलयता अपराजित रहेको छ। अहिले ब्राजिल पनि शानदार लयमा छ र १३ खेलयता हार ब्यहोरेको छैन। ब्राजिलले अन्तिमपटक अर्जेन्टिनासँग नै हार ब्यहोरेको थियो, सन् २०१९ को अक्टोबरमा आयोजित मैत्रिपूर्ण खेलमा १-० गोलले।

मेस्सीले करियरको सबैभन्दा बढी गोल ब्राजिलविरुद्ध गरेका छन्। पाँचपटकको विश्च च्याम्पियनविरुद्ध मेस्सीको गोल संख्या ५ रहेको छ। जारी कोपा अमेरिकामा उनी उत्कृष्ट लयमा छन्। उनले चार गोल र ५ असिस्ट गरेका छन्। प्रतियोगितामा  उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन। अब एक गोल गरे ब्राजिलका महान् खेलाडी पेलेसँग ७७ गोलको बराबरी गर्नेछन्।  ७ वर्षअघि ब्राजिलमै आयोजित विश्वकपमा मेस्सी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। तर मेस्सी यसमा सन्तुष्ट हुन सक्ने अवस्थामा छैनन्। उनी अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न चाहन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?