
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पास गर्न विपक्षीले साथ दिएमा विश्वासको मत लिन तयार रहेको बताएका छन्।
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि लगातार प्रश्न उठाएपछि मुख्यमन्त्री पोखरेलले बजेट पास गर्न सहयोग गरेमा विश्वासको मत लिने बताएका हुन्।
प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन तयार रहेको भन्दै बजेटमाथि एकपटक छलफल गर्न र सहमति जुटाउन आग्रह गरेका हुन्।
पोखरेलले भने, ‘विश्वासको मत लिन म तयार छु। त्यसपछि के गर्ने भन्ने कुरा हो, त्यसमा गम्भीर हुनुहोस्। अहिलेको सरकार १६८ को १ अन्तर्गतको हो। मत लिँदा २ अनुसार नभए ३ मा जान्छ। ३ बनाउने अवस्था नआएकै राम्रो। त्यसपछि उपधारा ५ मा गएर चुनावमा जानुपर्छ। त्यसमा मेरो रुचि छैन।’
उनले विपक्षी गठबन्धनलाई छलफलमा सहभागी भएर बजेट पास गर्न दिन अनुरोध गरेपनि विपक्षी गठबन्धनले सरकारलाई सदनमा विश्वास देखाउन चुनौती दिँदै आएका छन्। मुख्यमन्त्रीले भने बजेटलाई असफल नगराउन विपक्षीलाई पटक–पटक आग्रह गर्दै आएका छन्।