
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि युनडिपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले खातामार्फत भुक्तानी गर्नेछ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीमध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीलाई बैंकले सहुलियतपूर्ण कर्जा लगानी गर्न सकिने बताए।
युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलो पटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीलाई युएनडिपीको प्रयास कार्यक्रमअन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने बताए।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख, कम्पनी सचिव, युएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगरलगायत सहभागी थिए।