राजनीतिमा तेस्राे पुस्ता

निराश हुने छुट हामी युवालाई छैन

+
-

समस्या छन्।

तर निराश हुने छुट हामीलाई छैन। आरती लामा भन्छिन्, ‘ती समस्या चटक्कै छोडेर भाग्ने छुट हामीलाई छैन।’

लामा भन्छिन्, ‘क्याम्पसमा हुने समस्या सुल्झाउने मात्र हैन, विद्यार्थी राजनीति त्यो हो, जसले हिजोको दिनमा आफ्नो राजनीतिक पार्टीको विचारको संरक्षणका लागि लड्यो। ती विचार आम जनतामाझ पुर्‍याउने भूमिका निभायो। र विद्यार्थी राजनीति त्यो पनि हो, जसले आफ्नो माउ पार्टीलाई घच्घच्याउने काम पनि गर्‍यो। प्रतिपक्षको भूमिका निभायाे।’

क्याम्पसमा समस्या ज्यूँका त्यूँ छन्। माउ पार्टीका जुन विचार उनीहरुले संरक्षण गरे ती विचार आज पार्टीका दस्तावेजमा सीमित छन्। त्यसैले विद्यार्थी राजनीति आजको दिनमा पनि उत्तिकै महत्वपूर्ण छ लामाका विचारमा।

करिव २० वर्ष भइसक्यो आरती लामा विद्यार्थी राजनीतिमा लागेको। विद्यालयको सानो स्कुल कमिटी हुँदै अनेरास्ववियूको महासचिव हुँदासम्म उनले धेरै राजनीतिक उतारचढाव देखिन्। भोगिन्। आफ्नो पहिलो पुस्ताको कम्युनिष्ट आन्दोलन सुनिन्। दोस्रो पुस्ताका नेताले गरेको आन्दोलन देखिन्। ती आन्देलनका कारण भएका ठूला राजनीतिक परिवर्तन पनि देखिन्।

उनी भन्छिन्, ‘हामीलाई लागेको थियो, अब हामीले आन्दोलन गर्नु पर्दैन। सडकमा टाएर बाल्नु पर्दैन। मसाल जुलुस निकाल्नु पर्दैन। तर विडम्वना आज हाम्रीले फेरि त्यही गरिरहनु परेको छ, जुन हाम्रा लागि अघिल्लो पुस्ताले गरेका थिए।’

संसद विघटनका विरुद्धको आन्दाेलनमा आरती लामा। तस्बिर: बर्षा शाह

अहिलेको राजनीतिक अवस्थामा आरती लामाहरु तिनीहरुसँग लडिरहेका छन्, जो हिजोको दिनमा उनीहरुका नेता थिए। जसका विचार बोकेर उनीहरु भोट माग्न गए।

आरती भन्छिन्, ‘म यो गलत यो सहि भन्दैन। समस्या केपी ओलीमा छन्। समस्या माधवकुमार नेपालमा छन्। हाम्रो लडाईं प्रवृतिविरुद्धको हो।’

यस्ता लडाईं आफूले करिब २० वर्षदेखि लड्दै आएको उनी बताउँछिन्।

परिवारमा राजनीतिक वातावरण भएका कारण राजनीतिमा लाग्न आरती लामालाई धेरै झन्झट ब्यहोर्नु परेन। सर्लाहीको एक राजनीतिक परिवारमा जन्मिएकी उनी कक्षा आठ पढ्दादेखि नै राजनीतिमा लागिन्।

बुवा सुरेन्द्र लामा नेकपा एमालेको सक्रिय राजनीतिमा छन्। त्योभन्दा अघि हजुरबुवा पनि कम्युनिष्ट आन्दोलन मै लागेका।

आरतीले कक्षा आठबाट राजनीति सुरु गरिन्। कम्युनिष्ट आन्दोलनमा लागेर २०७० को संविधान सभा चुनाव लडिसकेका बुवा र बुझ्ने आमालाई उनले राजनीति किन गरिरहेको छु भनेर कहिल्यै सम्झाउनु परेन। हजुरबुवाको भुमिगत कम्युनिष्ट आन्दोलन र बुवाले सुनाउने जनवादी गीत उनका लागि प्रेरणा बने।

परिवारसँग आरती लामा: बायाँतर्फ उभिएकी। तस्बिर सौजन्यः आरती लामा।

उनी भुगोलको राजनीति हुँदै विद्यार्थीको केन्द्रीय राजनीतिसम्म आइपुगेकी छन्। ५६ सालमा उनी महादेव जनता माध्यामिक विद्यादयमा स्कुल कमिटी सदस्य भइन्। यो उनको राजनीतिको पहिले खुड्किलो थियो।

स्कुलमा आरती लामा: बसकाे दायाँबाट तेस्राे। तस्बिर सौजन्यः आरती लामा।

५८ सालमा एलएलसी सकेर उनी पढ्न काठमाडौँ आइन्। मदन भण्डारी कलेजमा राजनीतिक संगठन थिएनन्। त्यहाँ संगठन गठन गर्न पाइँदैन थियो। उनले त्यहाँभन्दा बाहिर नै राजनीति सिकिन्।

प्लस टु सकेर उनी आफ्नो जिल्ला सर्लाही फर्किइन्। स्नातकमा नाम लेखाइन्। ‘त्यतिबेला त्यहाँ स्ववियु निर्वाचन हुँदैनथ्यो। हामीले नै त्यहाँ निर्वाचनको पहल गर्‍यौँ,’ लामाले भनिन्, ‘म त्यहाँ जिल्ला कमिटी कोषाध्यक्ष भएँ।’

संसद विघटनविरुद्धको आन्दाेलनमा आरती लामा। तस्बिर: बर्षा शाह

राजनीतिमा उनको अर्को खुड्किलो थियो २०६५ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्यमा विजयी हुनु। रामकुमारी झाँक्रीको कमाण्ड थियो त्यो। उनको यो विद्यार्थीको केन्द्रीय राजनीतिमा पहिलो पाइला थियो। केन्द्रीय कमिटीमा दोस्रो पटक विजयी भएपछि उनी जनकपुर अञ्चलको संयोजक भइन्।

सात वर्षअघि भएको नविना लामाको नेतृत्वमा संगठनको उनी सचिव भइन्।

उनको माउ पार्टी नेकपा एमाले माओवादी केन्द्रसँग मिल्न गयो। तल्लो तहमा पनि एकिकरणको कामहरु भइरहेका थिए तर पार्टी फेरि आ-आफ्नो बाटो लागे। त्यति मात्र होइन उनीहरुकै एमालेमा पनि दरार आयो, जुन विद्यार्थी संगठनमा पनि देखियो। माधव पक्ष र ओलीका आ-आफ्ना गुटका भेला सुरु भए। उनी माधव पक्षीय भेलाबाट संगठनको महासचिव भएकी छन्।

‘हामी स्खलित भैसकेका छौँ,’ उनी बारम्बार देहोर्‍याउँछिन्, ‘हामीले सोच्नुपर्ने भएको छ। हाम्रो संगठन कस्तो थियो र अहिले कस्तो छ? संगठनमा त्यतिबेलाका नेता कस्ता थिए? उनीहरुले संगठनमा रहँदा के गरे? हामीले के गरिरहेका छौँ?’

उनको संगठन मात्र हैन समग्र युवा राजनीति नै निराशाजनक रहेको उनको बुझाइ छ।

‘गगन थापा, योगेश भट्टराई अनि रामकुमारी झाँक्रीजस्ता नेताले गरेकोजस्तो राजनीति हामीले गरेका छैनौँ,’ उनी भन्छिन्, ‘२०६२/०६३ को जनआन्दोलनमा होस् वा त्यसपछि देखिएका समस्यामा उनीहरुको आवाज बुलन्द थियो।

तर आज हामी कुनै एक व्यक्तिको लागि लडिरहेका छौँ। कोही एक व्यक्तिको गुणगान गाइरहेका छौँ। राम्रो काम गरेको होस् वा नराम्रो काम गरेको होस्। हामीले आत्मालोचना गर्नुपर्ने बेला भएको छ।’

‘हामी मूल्य र मान्यतामा विश्वास गर्छौँ। हामी सामुयिकतामा विश्वास गर्छौँ, ‘उनी थप्छिन्, ‘अब हामीले यस्तो संस्कृतिको विकास गरौँ, जहाँ कुनै एक नेताको ठूलो हेडिङ बोर्डको अगाडि उभिएर ‘वि वान्ट’ वा ‘वि लभ’ भन्ने नारा लगाउनु नपरोस्।’

युवाहरु राजनीतिक पार्टीका गोटी मात्र हुन् भन्ने आरोप आइरहँदा उनको भनाइ छ,’विद्यार्थी वा युवा राजनीतिलाई कसरी मुलधारको राजनीतिमा हस्तक्षेपकारी भूमिकामा पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ।’

आरती लामा/ तस्बिर: बर्षा शाह

भिडियाे: रविन आचार्य

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?