
काठमाडौँ- केही दिनअघि केही प्रहरी अधिकारीको फोन आएपछि पूर्व नायब महानिरीक्षक-डीआईजी हेमन्त मल्ल झस्किए।
उनको नामको फेसबुक आईडीबाट ती अधिकारीहरुसँग आफन्तको उपचारका लागि भन्दै म्यासेन्जरबाट पैसा मागिएको रहेछ। उनले आफ्नो तस्विर र नाम दुरुपयोग गरेर कसैले नक्कली फेसबुक आईडी बनाएको चाल पाए र तत्काल प्रहरीलाई खबर गरे। नक्कली फेसबुक अकाउन्ट तत्काल बन्द गरियो।
मल्लको नाममा नक्कली फेसबुक आईडी खोलेर पैसा मागिएको यो पहिलोपटक थिएन। यसअघि दुईपटक यस्तै घटना उनले ब्यहोरेका थिए। अघिल्लो पटक धेरै मिडियाकर्मीसँग त्यसरी पैसा मागिएको खबर आफूले पाएको उनले बताए।
‘घाइतेको तस्विर समेत पठाइएको रहेछ। तर हिन्दीमा कुरा गरेकाले साथीहरुले शंका लागेर फोन गरेका रहेछन्’, देशसञ्चारसँग कुरा गर्दै पूर्व डीआईजी मल्लले भने।
यसअघिका घटनामा पनि हिन्दीमै कुरा गरेर पैसा मागिएको उनले बताए। ‘केही साथीहरुले आफ्नो नामबाट फ्रेन्ड रिक्वेस्ट आएपछि फोन गरेर बुझेका पनि थिए’, मल्लले भने।
केहि समयअघि एक नेपाली महिला कलाकारको फेसबुक अकाउन्ट ह्याक गरेर एक नेपाली किशोरले साथीहरुसँग पैसा मागेका थिए। प्रहरीले ती किशोरलाई पछि पक्राउ गरेको थियो।
‘नक्कली फेसबुक अकाउन्टका दुईवटा प्रयोजन हुन्छन्, एउटा ठगी र अर्को चरित्र हत्या। पछिल्लो समय ठगीको मात्रा बढेको छ’, प्रहरीको साइबर ब्युरोको प्रमुख नबिन्द अर्याल भन्छन्।
अगाडि थप्छन्, ‘नक्कली फेसबुक आईडी खोल्ने र सक्कली फेसबुक आईडीमा जोडिएका साथीहरुको पहिचान गरी उनीहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाएर अप्ठेरो परेको भन्दै पैसा माग्ने ट्रेन्ड देखिन्छ। केहीले फेसबुक अकाउन्ट नै ह्याक गरी त्यसरी पैसा माग्ने गरेका रहेछन्। रिचार्ज कार्ड माग्नेदेखि १० हजार रुपैयाँ मागेकोसम्म भेटिएको छ। शंका लागेकाले सक्कली फेसबुक अकाउन्टवालासँग फोन गरी बुझ्ने पनि गरेका छन्। केही नसोची पैसा पठाउने गरिएको पनि पाइएको छ।’
एसएसपी अर्याल लकडाउनयता यस किसिमको फेसबुक ठगी मौलाएको बताउँछन्। ‘त्यसअघि चिठ्ठा पर्यो, गिफ्ट पठाएको छ भन्दै पैसा माग्ने चलन देखिएको थियो भने अहिले नक्कली फेसबुक अकाउन्ट बनाएर पैसा माग्ने गरेको पाइएको छ’, उनले भने।
पूर्व डीआईजी मल्ल यस किसिमका घटनामा फेसबुक प्रयोगकर्ता आफैसचेत हुनुपर्ने बताउँछन्। साइबर ब्युरोका प्रमुख अर्याल नेपालमै पनि यसरी ठग्नेहरु धेरै भेटिएको बताउँछन्।