
काठमाडौँ– नेकपा एमालेका दुई उच्चतम प्रतिद्वन्द्वी मुठभेडकै ‘मूड’मा रहँदा ‘एकतावादी’हरुबाट जारी प्रयास असान्दर्भिक भइसकेको हो त? यो प्रश्न र आशंकाकैबीच ‘एकतावादी’ समूहले आफ्नो प्रयास र आस त्यागेको छैन। माधव नेपाललाई ‘राष्ट्रघाती’ या ‘गद्दार’का रुपमा केपी ओलीले प्रस्तुत गरेपछि एमालेको एउटा समूहको घृणा ओलीविरुद्ध चुलिएको छ।
आइतबार सिहंदरबारमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल र ओली पक्षका सांसद एवं पूर्वमन्त्री नारदमुनि राना एकाएक आपसमा भिडे। जनादेशबाट नभइ परमादेशबाट संसद ब्यूँतिएको टिप्पणी गरेपछि रानामाथि नेपाल खनिएका थिए। ‘प्रतिगमनको मतियार भएर यहाँ बोल्न पाइँदैन। अहिले नै राजीनामा दिनुस्, गइहाल्नुस्’ भन्दै नेपालले रानामाथि आक्रोश पोखेका थिए।
तर नेपालको प्रतिगमनको आरोप ओलीविरुद्ध तेर्सिएको बुझ्न कठिन थिएन। नेपाल समर्थक सांसदहरुलाई रानामाथि जाइलाग्न उक्सायो पनि त्यो भीडन्तले। ओलीले पहिलो पटक संसद विघटन गर्दा नेपालसँगै संसद पुनःस्थापनाका लागि सक्रिय रहेकी तर दोस्रोपल्ट ओली कित्तामा उभिएकी समिति सभापति पवित्रा निरौलाल नेपाल पक्षका सांसद र रानालाई पूर्वनिर्धारित एजेण्डामाथिको छलफलमा सीमित राख्ने चेष्टा गरिरहिन्।
आइतबार नै सिंहदरबारमा नेपाल र ओली पक्षका विघटित कार्यदलका सदस्यहरुले ओली र नेपाल पक्षका सांसदहरुलाई पार्टी एकताका लागि दबाब दिन आग्रह गरे। यो दबाब बढिरहँदा ओलीले आफूपक्षीय अखिल महिला संघको भर्चुअल कार्यक्रममा नेपाललाई लक्षित गर्दै भने,‘प्रतिक्रियावादीहरुको पुच्छर भएर हिँड्नेहरुसँग अब एकता हुन्छ भन्नेमा मलाई विश्वास छैन।’ ओली त्यतिमा सिमित भएनन्। उनले नेपाललाई भ्यागुताको संज्ञा दिँदै भने,‘खोलाको किनारको प्वालमा रहेको भ्यागुतोले आफ्नो आँखाले जति देख्छ त्यसैलाई नै आकाश, त्यसैलाई नै धर्ति देख्छ।’
यता नेपालका ओलीप्रति लक्षित अभिव्यक्ति र सन्देश पनि खासै एकताका पक्षमा आएका छैनन्। त्यसको अघिल्लो दिन नेपालले भनेका थिए, ‘ओली सुध्रिएलान् भनेर म एक दिन विचारपूर्वक बोलेँ। तर कुनै संकेत छैन। उल्टो तर्साउने काम भएको छ।’
त्यो बेला उनले ओलीलाई श्री पाँच महाराजधिराजको संज्ञा दिएका थिए।
त्यसअघि ओली र नेपाल पक्ष एकअर्काविरुद्ध शक्ति प्रदर्शनमा उत्रिएको सार्वजनिक नै छ। ओली निकट पार्टी महासचिव ईश्वर पोखरेलको उपस्थितिमा शनिबार युथ फोर्स ब्यूँताइयो। पोखरेलले यसलाई एमाले रक्षा कवजको रुपमा प्रस्तुत गरेपनि त्यसको लक्ष्य नेपाल पक्षलाई त्रसित पार्नु नै थियो। २०६५ सालको महाधिवेशनपछि विघटित युथ फोर्स हाल आएर ब्यूँताउनुको कारण बुझ्न झनै कठिन छैन। युथ फोर्सका संयोजक क्षितिज थेबेले नेतृत्वमाथि निरन्तर भइरहेको हमला परास्त गर्न युथ फोर्स गठन गरेको दाबी गरे।

युथ फोर्सको उपत्यका कमाण्ड घोषणा कार्यक्रम। तस्बिरः बर्षा शाह/देश सञ्चार।
वास्तवमा युथ फोर्समा सामेल भएकाहरु अपरिचित अनुहार होइनन्। सामाजिक सञ्जालमा ‘साइबर सेना’देखि सडकमा बाँदर जुलुल निकाल्ने र नेपालको पुत्ला जलाउने भूमिका उनीहरुले खेलका छन्। र, उनीहरुको निशाना सर्वोच्च अदालतप्रति पनि बनेको छ। उनीहरुकै उपस्थितिमा ओलीले बालुवाटारबाट बालकोट पुग्नासाथ नेपाललाई ‘लाल गद्दार’ घोषणा गर्न भ्याएका थिए।
बदलामा नेपालले पनि आफ्नो शक्ति देखाइछाडे। ओली पक्षले युथ फोर्स ब्यूँताएको दुई दिनमै ३१ असारमा नेपाल पक्षले तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स घोषणा गर्यो। अखिलका अध्यक्ष सुदेश पराजुलीले नेपालमाथि आक्रमण गर्नेहरुलाई त्यसै नछोड्ने घोषणा गरे। उनले घोषणा गरेको एजेण्डा थियो, ‘माधव नेपालतिर हेरे आँखा फोर्ने, उठेका औंला र खुट्टा भाँच्ने।’

अखिल फोर्स घोषणा कार्यक्रम।
नेपाल पक्ष त्यतिमा मात्रै सीमित भएन। ६ असारमा उसले पिपुल्स भोलिन्टियर्स (पीभी), ब्यूँताएर ओलीलाई आफ्नो शक्ति देखायो। त्यसको नेतृत्व नेपालले नै गरे। र, उनले ओलीले जस्तो बाँदरे प्रवृति नदेखाउन आफ्ना कार्यकर्तालाई सुझाए।
अर्थात संसद बाहिर पनि भिडन्त या शक्ति प्रदेशका लागि दुवै समूहले तयारी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाल पक्षीय १४ मात्रै होइन ओलीसँग नजिक रहेका घोषणा गरेका ८ जना सांसदहरुले विश्वासको मत दिएपछि ओली र नेपाल पक्षबीचको अविश्वासले उग्ररुप लिएको छ। एकता प्रयास असान्दर्भिकतातर्फ बढेको छ। र, त्यही अनुपातमा उनीहरुको वैमनस्यता झडप र हिंसामा परिणत हुने खतरा उत्पन्न भएको छ।
यसैबीच नेपालले सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी नेतृत्वसँग बैठक गरेर त्यसलाई पुष्टि गरेका छन्। ‘एकतावादी’ समूह आफ्नो स्वतन्त्र र प्रभावकारी हैसियत गुमेको सन्देश दिन चाहँदैन। यसको अर्थ हो, एकता प्रयास समाप्त भएको अवस्थामा उनीहरु आफ्नो भावी राजनीति, चुनौती, सम्भावना र दुई नेता भएको एमालेसँग सहज महशुस गर्छन्, त्यसका आधारमा उनीहरुले आफ्नो पक्षबारे अन्तिम निर्णय लिनेछन्।
एकता नहुने निर्णयमा ओली निकट ईश्वर पोखरेलगायत नेताहरुले निकालेको लामै भइसक्यो। यता ओलीसँग सँगै अघि बढ्न नसकिने निष्कर्षमा नेपाल स्वयम् र उनी समर्थक तेस्रो पुस्ता भनेर चिनिएका जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणी चौधरी, विजय पौडेल मात्रै होइन दोस्रो पुस्ताका बेदुराम भुसाल र मुकुन्द न्यौपाने पुगेका छन्। उनीहरु समय खेर नफाली नयाँ पार्टी निर्माणमा लाग्नु पर्नेमा जोड दिइरहेका छन्।
तर ओलीका गतिविधि पनि मन नपराउने, एकतामा पनि सफल नहुने र नेपाललाई पनि पूर्ण रुपमा साथ दिन पनि नसक्ने समूह ठूलै छ नेपाल पक्षमा । रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, भीम रावल, योगेश भट्टराईलगायत अहिले पनि पार्टी एकता सम्भव छ भनेर लागिरहेका छन्।
सोमबार नेपाल पक्षीय स्थायी कमिटी बैठकका सदस्यहरुले एकता प्रयास भाँड्ने गरी एकअर्काविरुद्ध अभिव्यक्ति नदिन नेपाल र ओलीलाई सुझाव दिएका छन्। साथै एकताको प्रयास जारी राख्ने उनीहरुको निष्कर्ष छ। तर कहिले सम्म? आखिर एकता प्रयासले कुनै स्पष्ट आकार लिइहाले पनि त्यसको अनुमोदन ओली र नेपालले नै गर्नुपर्ने हुन्छ। र, उनीहरुको पारस्पारिक घृणा बढ्दै जाँदा ‘एकतावादी’को जाँगर कति टिक्ला?