
काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री नियुक्त भई पुनःस्थापित संसद्बाट विश्वासको मत प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै देशका मुख्य विषयमा ध्यानाकर्षण गराएको छ।
दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी विदेश जानका लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएको घटनाप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ।
भारतीय आपराधिक कार्यको विरोध र भर्त्सना गर्दै भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्ने तथा घटनाको छानबिन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न संयुक्त विद्यार्थी संगठनले माग गरेको छ।
भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सहज जीवन र शान्तिसुरक्षाको ग्यारेन्टी गरिनुपर्ने आवश्यकतामा संयुक्त विद्यार्थी संगठनले जोड दिएको छ।
त्यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएको बेथितिविरुद्ध विद्यार्थीको आन्दोलन चलिरहेको जानकारी दिँदै विद्यार्थीका जायज माग सम्बोधन गरी परीक्षा सुचारु गर्न माग गरेको छ।
त्यसैगरी, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग गरेको छ।