
३३–३४ वर्षको उमेर, क्रिकेटमा सन्न्यास लिने समय पटक्कै होइन। भारतीय क्रिकेट टोलीकै कुरा गर्ने हो भने खेलाडीहरूमा राष्ट्रिय टोलीबाट खेल्ने धीत मरेको कहिल्यै देखिँदैन। टिममा स्थान बनाउन छाडेपछि मात्र उनीहरू सन्न्यासबारे सोच्छन्। नेपाली क्रिकेट टोलीमा पारस खड्काको त्यो स्थिति पक्कै थिएन। नत्र टोलीका अन्य सदस्य पारसको निर्णय अनपेक्षित भएको र अझै केही वर्ष खेलिदिए हुने भनेर लेख्ने थिएनन्। पारस अनुभवी खेलाडी भएर मात्र टोलीमा रहिरहेका थिएनन्, उनको लय पनि उच्च थियो।
‘३३–३४ वर्ष मेरो उमेर भयो होला। तर, क्रिकेटमा मेरो उमेर ५० वर्ष पार भएजस्तो लाग्छ’, सन्न्यास घोषणापछि आयोजित पत्रकार सम्मेलनमा बुधबार उनलाई सबैभन्दा बढी सोधिएको प्रश्नको जवाफ दिँदै थिए पारस। उनको जवाफ अस्वाभाविक थिएन। सिनियर राष्ट्रिय टोलीबाट मात्र १७ वर्ष खेले, उमेरस्तरको राष्ट्रिय टोलीबाट समेत जोड्दा १९ वर्ष।
नेपालमा सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन अन्य देशमा जस्तो लामो समय कुरिरहनुपर्ने अवस्था छैन, प्रायः खेलाडीका लागि। पारसले पनि १७ वर्षकै उमेरमा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। १० वर्ष सिनियर राष्ट्रिय टोलीको कप्तानी गरे।
उनको यही ‘लिडरसिप’मा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा कायापलट ग¥यो, कम्तीमा राष्ट्रियस्तरमा। पहिलोपटक टी–२० विश्वकप खेल्यो भने पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पायो। पारसले उपाधिहरूको त थाती नै लगाए। उनी कप्तान हुनुअघि नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एउटै पनि उपाधि जित्न सकेको थिएन, भलै पाँच पटक यू–१९ विश्वकप खेलेको थियो।
पारस सन् २०१९ मा राष्ट्रिय टोलीको कप्तान छाडेपछि नै सन्न्यासबारे सोचेको बताउँछन्। ’मैले सुतेर, जुरुक्क उठेर सन्न्यासको निर्णय लिएको होइन। कप्तान छाडेसँगै सन्न्यासको सोच आएको थियो। मैले करिब १० वर्ष राष्ट्रिय टोलीको कप्तानी गरेँ। अब अरुलाई त्यो जिम्मेवारी दिनुपर्ने अवस्था आएको थियो। कप्तान छाडे पनि तत्काल टोलीलाई मेरो आवश्यकता छ भन्ने बुझेर खेलिरहेँ’, पारसको भनाइ छ।

सबै तस्बिरहरु: बर्षा शाह/देश सञ्चार
पारसले कप्तान छाड्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको एक वर्ष मात्र भएको थियो। त्योभन्दा बढी, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल–आईसीसीले नेपालको एसोसिएट सदस्यता निलम्बन भएको भर्खरै मात्र थियो। ४–५ वर्षपछि मात्र उक्त निलम्बन फुकुवा भएको थियो।
नेपाल क्रिकेट संघ–क्यानमा निर्वाचित कार्यसमिति आएको पनि भर्खरै थियो। अब नेपाली क्रिकेट अगाडि बढ्ने बाटो सबै हिसाबले तयार भएको छ भन्ने अवस्थामा पारसले कप्तानी त्यागेका थिए।
क्रिकेटको विकासमा क्यान जिम्मेवार नबनेको, घरेलु प्रतियोगिताको संरचना नभएकोलगायत कारण देखाएर पारस बारम्बार क्यानका पदाधिकारीसँग टकराब लिइरहन्थे। क्यान आफँै पनि भ्रष्टाचारलगायत आन्तरिक विवादमा रुमल्लिएको थियो। तर पारसले खेल्न छाडेनन्। अन्य खेलाडीलाई समेत एकीकृत गरिरहे।
उनी लामो समय दोहोर् याइरहन्थे– हाम्रो सपना एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने र विश्वकप खेल्ने हो। तर, हाम्रो क्रिकेट संरचना भएन। खेलाडीले मात्र लागेर हुँदैन। व्यवस्थापन पनि जिम्मेवार बन्नुपर्छ।
घरेलु क्रिकेट संरचना कमजोर र क्यान व्यवस्थापन नालायक बनेकै अवस्थामा, नेपालले टीट्वेन्टी विश्वकप खेल्यो। एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पायो। यसको अवधि अझै २ वर्ष बाँकी छ। ’एकदिवशीय विश्वकप चाहीँ खेल्न पाइएन। तर मेरै जिवन कालमा नेपालले टेस्ट मान्यता पाएको हेर्ने मन छ’, पारस भन्छन्।
पारस आगामी दिनमा क्रिकेटमै रहने बताउँछन्। एक दुई महिनाभित्र क्रिकेट एकेडेमी सुरु गर्ने र त्यसलाई केही समयमा राष्ट्रियस्तरमा विस्तार गर्ने बताउँछन्। ’हाम्रो खेलाडीमा क्षमता छ। उनिहरूले प्रमाणित पनि गरेर देखाएका छन्। तर माथिल्लोस्तरमा जानका लागि यसरी हुँदैन। त्यसका लागि व्यवस्थापनले बलियोसँग काम गर्नुपर्छ’, एकदिवशीय मान्यतालाई कायम राख्न र टेस्ट मान्यताप्राप्त गर्न पारसको बुझाइ छ।
पारस नलुकाईकन, आफु क्रिकेट व्यवस्थापनमा आउन चाहेको बताउँछन्। ’धेरैले मलाई क्यानमा आओस् भन्ने चाहनु भएको छ। तर म एक्लैले केही हुँदैन। टिमले काम गर्नुपर्छ। खेलाडीले मात्र जिम्मेवारी पुरा गरेर हुँदैन। व्यवस्थापन जिम्मेवार बन्नुपर्छ’, पारस भन्छन्। क्यानमा चाँडै आएर नेपाली क्रिकेटको वर्तमान ’पेस’लाई कायम राख्न खेलाडीबाट सन्न्यास लिएको हुन सक्ने आम बुझाईलाई उनले गलत भनेनन्। बरु उनले आफु पहिलोपटक राष्ट्रिय टोलीको कप्तान हुँदादेखि नै विभिन्न समस्याहरू बुझेको र समाधानका उपायहरू पनि बुझ्दै गएको बताए।
’कप्तानका रुपमा मैले धेरै कुराहरू बुझ्ने अवसर पाएँ । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने पनि बुझेको छु’, व्यवस्थापनमा आउन सक्ने उनले बलियो संकेत गरे।
केही महिनाअघि नेपालमा त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखला भएको थियो। नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्यस शृंखलामा नेपाली टोलीले ऐतिहाँसिक प्रदर्शन ग¥यो, त्यस्तै जित प्राप्ती पनि। त्यस शृंखलामा पारस चोटका कारण सहभागी थिएनन्। ’मैले खेल्न नपाएपनि बाहिरै बसेर त्यो प्रदर्शनको स्वाद लिएँ। नेपालले बेग्लै किसिमको क्रिकेट खेल्यो’, उनी भन्छन्। त्यसयता पनि पारसले नेपाली टोलिबाट खेलेका छैनन्। उनले देखेको नेपाली क्रिकेटको गन्तव्यमा पुग्न यस्तै प्रदर्शनको आवश्यकता भइरहने उनले बुझेका छन्।