
काठमाडौँ– मेगा बैंकले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।
मेगा बैंक नेपाल लिमिटेड, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो।
यससम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले सम्झौता गरेका हुन्।
यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडले माछापालक कृषकलाई प्राविधिक सहयोग र अन्य सामग्री आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जा सहज रूपमा उपलब्ध गराउनेछ।
हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक कृषकलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए।
मेगा बैंकले ५ वर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ।
यसैगरी, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित भएको बताए।