प्रहरीको शान्ति मिसनको प्री-स्याटका सबै प्रश्नपत्र बाहिरिएको पुष्टि, उच्च अधिकारीहरुसहित ३० भन्दा बढीलाई कारबाही!

प्रहरीको शान्ति मिसनको प्री-स्याटका सबै प्रश्नपत्र बाहिरिएको पुष्टि, उच्च अधिकारीहरुसहित ३० भन्दा बढीलाई कारबाही!
+
-

काठमाडौं- शान्ति मिसनमा अब्जर्भरका रुपमा जाने प्रहरी अधिकारीका लागि लिइएको प्री-स्याट परीक्षाको सबै प्रश्नपत्र बाहिरिएको छानबिन समितिले निष्कर्ष निकालेको छ। डीआईजी वसन्त लामाको संयोजकत्वमा गठिन छानबिन समितिले प्रतिवेदन तयार गरेर बुझाउने तयारी गरेको छ।

छानबिन समितिले प्रश्नपत्र निकाल्न प्रत्यक्षरुपमा सहभागी दुई जना प्रहरी अधिकारीलाई बर्खास्त गर्नेसम्मको सिफारिस गरेको बुझिएको छ। स्रोतका अनुसार प्रश्नपत्र बाहिरिएको प्रकरणमा ३० भन्दा बढी प्रहरी अधिकारी मुछिएका छन्। तीमध्ये अधिकांश सिनियर प्रहरी अधिकारी र त्यसमा पनि कम्तिमा नायब उपरीक्षक-डीएसपीसम्म रहेको बुझिएको छ।

गत साउन १५ र १६ गते लिइएको प्री-स्याट परीक्षाको प्रश्नपत्र परीक्षा सञ्चालन गर्नुअगावै  बाहिरिएको थियो। साउन १५ गते दुई वटा सिफ्ट र साउन १६ गते दुई वटा सिफ्टमा गरी चार वटा सिफ्टमा परीक्षा सञ्चालन भएका थिए। साउन १६ गते बिहानै त्यस दिनको परीक्षाको प्रश्न पत्र बाहिरिएको चाल पाएपछि परीक्षा समितिले त्यस दिन सञ्चालन हुने दुवै परीक्षाका लागि नयाँ प्रश्नपत्र तयार गरेको थियो।

समितिले यूएन शाखाका प्रमुख एसपी अनुपम शमशेर राणाको कार्यकक्षमा रहेको टेबलको ‘घर्रा’मा राखिएको प्रश्नपत्र निकाल्ने परिचर सुरेश बम र उनलाई प्रश्न पत्र निकाल्न लगाउने हवल्दार कुमार शाहलाई बर्खास्तसम्मको कारबाही गर्न सिफारिस गरेको हो। बमले साउन १३ गते राति प्रश्न पत्र निकालेर फोटो कपी गरेको छानबिन समितिको निष्कर्ष छ। शाहले प्रश्नपत्र पाएपछि परीक्षा दिन लागेका प्रहरी अधिकारीहरुलाई पठाएका थिए।

‘प्रहरीले साउन १६ गतेको प्रश्नपत्र बाहिरिएको चाल पाएपनि अघिल्लो दिन भएको परीक्षाको पनि प्रश्नपत्र बाहिरिएको छानबिनबाट देखिएको छ’, छानबिनमा संलग्न एक अधिकारीले भने। स्रोतका अनुसार साउन १६ गते युएन शाखामा कार्यरत डीएसपी बासु पाठकलाई एक जना प्रहरी निरीक्षकले त्यस दिनको प्रश्नपत्र पठाएका थिए। लगत्तै पाठकले शाखा प्रमुख अनुपम शमशेर राणालाई त्यसबारे खबर गरेका थिए। प्रश्नपत्र हुबहु मिलेपछि राणाले परीक्षा समितिलाई जानकारी गराएका थिए। त्यसपछि समितिले अर्को प्रश्न पत्र तयार गरेका थियो।

पाठकलाई प्रश्न पत्र पठाउने प्रहरी निरीक्षकले आफूलाई एक जना जवानले उक्त प्रश्न पठाएको बताएपछि ती जवानमाथि निगरानी राखिएको थियो। जवान त्यस दिनको परीक्षामा सहभागी थिए। परीक्षालगत्तै ती जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो। केही महिना अघि मात्र युएन शाखाबाट लखेटिएका हवल्दार शाहले प्रश्नपत्र निकाल्ने योजना बनाएको त्यति बेलाको छानबिनले देखाएको थियो। छानबिन समितिले शाह र बम दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। शाहले कसको योजनामा बमलाई प्रश्न पत्र निकाल्न लगाएका थिए भन्नेबारे केही खुलाइएको छैन।

‘एसपी राणाको कार्यकक्षको एउटा साँचो परिचर बमसँग पनि रहेछ। शाहकै योजनामा बमले प्रश्न पत्र निकालेर फोटोकपी गरेका रहेछन्’, छानबिन समितिका एक अधिकारीले भने। ८ वर्षभन्दा बढी समय युएन शाखामा बिताएका शाहले अघिल्ला वर्षका प्री-स्याट परीक्षाहरुमा पनि प्रश्नपत्र आउट गरेको हुन सक्ने छानबिन समितिले आशंका गरेको छ।

स्याट परीक्षामा सहभागी हुने परीक्षार्थीलाई ‘फिल्टर’ गर्न प्री-स्याट हुने गर्छ। यसपटक स्याट परीक्षामा २ सय ५० जनालाई सहभागि गराउने गरी प्री-स्याटको परीक्षा गरिएको थियो। प्रहरी प्रधान कार्यालयले प्री-स्याटको गत परीक्षा रद्द गरी फेरि सञ्चालन गर्ने तयारी गरेको छ।

स्याट पास गर्नेले एक वर्षमा ४५ लाख रुपैयाँभन्दा बढी ल्याउँछन् 

नेपाल प्रहरीमा शान्ति मिसन प्रहरीका लागि आकर्षक मानिन्छन्। शान्ति मिसनमा खटिने टोली एफपीयू र आईपीओज गरी दुई वटा हुन्छ। एफपीयूका लागि स्याट परीक्षा पास गरिरहन पर्दैन भने इन्डिभिज्युअल पुलिस अफिसर्स -आईपीओजका लागि स्याट परीक्षा पास गर्नैपर्छ। आईपीओज अब्जर्भरका रुपमा खटिने गर्छन्।

उनीहरुको पारिश्रमिक एफपीयूको भन्दा निकै धेरै हुन्छ। नेपाल प्रहरीको एफपीयू अहिले डार्फरमा मात्र छ जसको अवधि आगामी डिसेम्बरमा सकिँदै छ। तर एफपीओज भने पाँचवटा ठाउँमा छ। साउथ सुडान, कङ्गो, सोमालिया, डार्फर र अबेईमा नेपाल प्रहरीको आईपीओज रहेका छन्।

आईपीओजले साउथ सुडानमा एक दिनको १ सय ३६ डलर पाउँछन्। सबैभन्दा कम पारिश्रमिक सोमालियामा छ, त्यहाँ खटिने आईपीओजले दैनिक ९७ डलर पाउँछन्। त्यसैबाट उनीहरुले खाने बस्ने व्यवस्थापन गर्नुपर्छ। दुवै मिसन एक वर्षको हुन्छ।

‘आईपीओजले वर्षमा ४५ लाखदेखि ६० लाख रुपैयाँसम्म ल्याउँछन्’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।  अहिले विभिन्न मिसनमा आईपीओजका रुपमा नेपाल प्रहरीका १८ पुरुष र १० महिलासहित २८ जना प्रहरी अधिकारी कार्यरत छन्। तीमध्ये दुई जना एसपी, ११ जना डीएसपी, २ जना इन्सपेक्टर, ९ जना सई, २ जना असई र दुई जना हवल्दार रहेका छन्।

हालसम्म आईपीओजका रुपमा नेपाल प्रहरीबाट ४६ जना एसएसपी, एक सय ५८ जना एसपी, पाँच सय ३५ जना डीएसपी, ९ सय २४ जना इन्सपेक्टर, ९ सय १९ जना सई, २ सय ७६ जना असई, ७२ जना हवल्दार र ६१ जना जवान गएका छन्। ‘ खुला प्रतिस्पर्धा भएकाले जवान सम्मले प्रि स्याट र स्याटका लागि निकै तयारी गर्ने गरेको देखिएको छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?