
बुटवल– शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार विदा हुनुअघि विभिन्न ६ निर्णय गरेको छ।
आज बसेको पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरुबारे जानकारी गराउँदै प्रवक्ता बैजनाथ चौधरीले सो जानकारी गराएका हुन्।
कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मी तथा अग्रपङ्तिमा रहेर काम गरेका कर्मचारीहरुलाई खोजिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारले आइसोलेसन अस्पतालहरुको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिहरुको म्यादसमेत थप गर्ने निर्णय गरेको छ।
यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई स्थानन्तरण गरी अस्पतालका रेडियोलोजिस्ट प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ।
मुख्यमन्त्री पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद् बैठकले प्रदेश विपद व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका २०७८ लाई स्कीकृत गरेको छ।
बैठकले प्रदेश खेलकुद परिषद्को सदस्यको मनोनयन गरेको छ। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा उद्योगहरुको दर्ता दस्तुरमा पूर्ण छुट प्रदान गर्ने निर्णय गरेको छ।