
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको र अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार बहन गर्ने बताइएको छ।
गत १९ वैशाखमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए। उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका हुन्।
मुख्यमन्त्री पोखरेलको राजीनामासँगै लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ।
बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गरिएको थियो। तर मुख्यमन्त्रीको राजीनामा आएपछि उक्त प्रस्ताव निर्णायार्थ पेश भएन। अविश्वास प्रस्तावमा थप छलफल गर्नु नपर्ने गरी प्रदेशसभा बैठक स्थगित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए।