
बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेशले सांसदलाई दल परिवर्तनमा प्रदेश प्रमुखको भूमिकाबारे प्रश्न उठाएपछि प्रदेश प्रमुखको सचिवालयले कडा प्रतिवाद गरेको छ।
लुम्बिनी प्रदेश प्रमुखको स्वकीय सचिवालयले विज्ञप्ति निकालेर एमाले प्रदेश अध्यक्षको विज्ञप्तिप्रति कडा आपत्ति जनाएको छ।
बिहीबार साँझ नयाँ सरकार गठनको विषयलाई लिएर नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनको भूमिकामाथि प्रश्न उठाउँदै विज्ञप्ति जारी गरेका थिए।
सोही विज्ञप्तिमा उल्लेख विषयलाई लिएर प्रदेश प्रमुखको सचिवालयले सांसदले दल परिवर्तनमा प्रदेश प्रमुखको भूमिका रहने–नरहनेबारे प्रस्ट हुन भनिएको छ।
‘माननीय अजय शाही स्वतन्त्र सांसद भएको र माननीय विमलाकुमारी खत्री वली सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट पार्टी रोज्न पाउने परमादेश भएपछि नेकपा माओवादी केन्द्र रोजी सोही संसदीय दलको सदस्य भएको स्पष्ट उल्लेख गरी लुम्बिनी प्रदेश सभाबाट सूचीकृत भएको नामावली प्रदेश प्रमुखको कार्यालयमा प्राप्त हुन आएको व्यहोरो अवगत गराउन चाहन्छु’, प्रदेश प्रमुखको निजी सचिवालयको तर्फबाट नारायणप्रसाद आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘प्रदेश सभा सदस्यमध्ये कुन सदस्य कुन पार्टीका हुन् र को कसले कुन–कुन पार्टीमा प्रवेश गरे वा गरेनन् भन्ने विषय यस कार्यालयसँग सम्बन्धित वा क्षेत्र अधिकारभित्र नपर्ने कुरा लीला गिरीजीलाई थाहा हुनुपर्ने कुरा हो, एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गरिएका विगतका उदारहणप्रति पनि लीला गिरीजीको ध्यान नपुगेको हो कि ? विज्ञप्तिमार्फत प्रश्न गरिएको छ, पार्टी परिवर्तन गर्ने र नगर्ने विषय नितान्त राजनीतिक र व्यक्तिहरूको सरोकारको विषयमा प्रदेश प्रमुखलाई आरोपित गर्नु पूर्वाग्रहको तुच्छ मनोवृत्ति र अति निन्दनीय कार्य भएको यस सचिवालय ठान्दछ।’
विज्ञप्तिमार्फत प्रदेश प्रमुख कुनै दलको सदस्य नरहेको हुने र संवैधानिक जिम्मेवारी निर्वाह गर्ने भएकाले संविधानमा व्यवस्था भएअनुसार सिफारिसका आधारमा निर्णयमा पुग्ने संस्था रहेको भन्दै आगामी दिनमा ‘तुच्छ आरोप’ नगर्न आग्रह गरिएको छ।