
काठमाडौँ– सेयर बजारमा आइतबार गिरावट आएको छ। नेप्सेका अनुसार आइतबार बजार २४.८८ अंकले घटेको हो। केही समययता सेयर बजार लगातार बढिरहेको थियो। तर, आइतबार बजार घटे पनि कारोबार रकम भने उच्च रहेको छ। ०.७८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक ३१५४.०३ अंकमा ओर्लिएको छ।
आइतबार २२२ कम्पनीका ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यो हालसम्मकै उच्च कारोबार हो।
यसअघि जेठ ३० गते एकैदिन १९ अर्ब ५५ करोड बराबरको कारोबार भएको थियो। आइतबार बजारमा करेक्सन देखिँदा उत्पादनमूलक समूह १६०.२३, लघुवित्त समूह ११५.१२ अंक र लगानी समूह ०.६६ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन्।
मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गरेसँगै आइतबारको सेयर बजारमा उल्लेख्य गिरावट देखिएको आकलन गरिएको छ।