
काठमाडौँ – एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन्।
राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यसअघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेकामध्ये १७ खेलाडी बाहिरिएको बताएको हो। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ।
एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। तर, परीक्षाका कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ।
एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमण दरका कारण तटस्थ स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ।
छनोट खेल १३ देखि २५ सेप्टेम्बरसम्म हुँदै छ। २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन्।