
बुटवल – प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ।
एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
एमालेले आफूले कारबाही गरेका सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ।
एमाले सांसदले संसदभित्रै एकाधिकारवाद मुर्दावाद, हाम्रो माग पूरा गर् जस्ता नारा लगाएका थिए।
एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन्।
शाही र वलीलाई पदमुक्त गरेको सूचना नसुनाएसम्म बैठक चल्न नदिने एमाले सांसद बैजनाथ चौधरीले बताए।
एमालेसँग आजै बिहान मुख्यमन्त्री कुलप्रसाद केसीले सदन चल्न दिन अनुरोध गरे पनि एमालेले २ सांसदलाई पदमुक्त गर्ने अडान कायमै राखेपछि बैठक अनिर्णित भएको थियो।
एमालेसँग निरन्तर छलफल गर्ने र सहमति जुटाउने सत्तारुढ दल कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए।