
काठमाडौँ – भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली पूर्ण रुपमा तयार रहेको र आफूहरुको लक्ष्य जित नै रहेको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मोहम्मद अलमुताइरीले बताएका छन् ।
बुधबार काठमाडौँमा भएको खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले भारतसँगको प्रतिस्पर्धाले नेपाली टोलीको नयाँ रुप अघि ल्याउने बताएका हुन् ।
उनले भनेका छन्, ‘भारत कडा प्रतिस्पर्धी हो । तर हामीले यसलाई अन्तर्राष्ट्रिय टिमसँगको प्रतिस्पर्धाका रुपमा मात्रै लिएका छौँ । हाम्रो लक्ष्य बराबरी होइन, जित हो । यो खेलले नेपाली टोलीको नयाँ अनुहार देखाउने छ ।’
उनले आफ्नो लक्ष्य अन्ततः साफ च्याम्पियनसिप नै रहेको बताउँदै भने, ‘हामी खुशीका लागि भन्दा पनि टिम र देशले गर्व गर्ने अवस्थाका लागि खेल्ने छौँ । नेपाली टिममाथि यी खेलले गर्व गर्ने नयाँ उचाई दिनेछ ।’
अहिले टिमको विश्वास राम्रो रहेको पनि उनले बताए ।

भारतीय टोलीका प्रशिक्षक इगोर स्तीमाच । तस्बिर : बर्षा शाह/देश सञ्चार
भारतीय टोलीका प्रशिक्षक इगोर स्तीमाचले आफूहरुले नेपालसँगको खेललाई सामान्य रुपमा नलिएको बताए । उनले भने, ‘साफ च्याम्पियनसिपको उपाधि दाबेदार मध्ये एक रहेकाले नेपाल टोलीलाई हामीले सामान्य रुपमा लिएका छैनौँ । पछिल्लो समय नेपाली टोलीले राम्रो रक्षात्मक खेल खेलिरहेको छ । हाम्रो ध्यान खेलाडीहरु कोही चोटग्रस्त नहुन् भन्नेमा पनि छ ।’
पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेमजोङ्गले आफूहरु भारतसँगको खेलका लागि सबै हिसाबले तयार रहेको बताए ।

नेपाली टोलीका कप्तान किरण चेमजोङ्ग । तस्बिर : बर्षा शाह/देश सञ्चार
प्रशिक्षक अलमुताइरी आएपछि टिममा आत्मविश्वासको अवस्था निकै राम्रो भएको उनले बताए । कप्तान चेमजोङ्गले आफ्नो १३ वर्षको खेल जीवनमा अलमुताइरी ‘फादर फिगर’ का रुपमा आएको पनि पत्रकार सम्मेलनमा बताएका छन् ।
भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल जहिले पनि आफूहरुका लागि बलियो प्रतिद्वन्द्वी रहेको बताए । उनले भने, ‘त्यसमाथि घरेलु मैदानमा नेपाली टोलीको स्वरुप नै बेग्लै हुन्छ । निकै बलियो रुपमा प्रस्तुत हुन्छ । अन्तर्राष्ट्रिय मैदान र घरेलु मैदानमा नेपाली टोली दुई भिन्न टिम लाग्छ ।’

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री। तस्बिर : बर्षा शाह/देश सञ्चार
धेरै नयाँ खेलाडीहरु नेपाली टोलीमा रहे पनि आफूहरुले कमजोर नठानेको र नयाँ खेलाडीहरुले झन चुनौति दिन सक्ने उनले बताएका छन् । उनले भने, ‘हामीले नयाँ खेलाडीहरुलाई कमजोर ठानेका छैनौँ ।’
नेपालले चरिप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने छ ।
नेपाल र भारतबिच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ । कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा लगाएका वा संक्रमण नभएको पिसिआर रिपोर्ट देखाउने ५१ सय दर्शक रंगशाला जान पाउने छन् ।
तस्बिरहरु : बर्षा शाह/देश सञ्चार