
काठमाडौँ – सैनिक हुद्दा भरत गुरुङको हत्या गर्ने सिपाही गंगाधर ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय गर्दै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी फैसला गरेको छ।
नेपाली सेनाबाट गरिएको कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनका आधारमा सेनाबाट भदौ ९ गते गठित समरी जनरल सैनिक अदालतले सिपाही ढकाललाई हत्यासम्बन्धी कसुरसमेत गरेको अभियोगमा दोषी ठहर गरेको हो।
‘गत साउन ७ गतेबाट गणना हुने गरी जन्मकैद (२५ वर्ष) र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी भदौ १६ गते फैसला भई प्रतिवादीलाई भदौ १७ गते फैसला सुनाई कार्यान्वयनसमेत भइसकेको जानकारी गराइन्छ’, फैसलामा उल्लेख छ। जिल्ला अदालत चितवनको फैसलासमेतका आधारमा सैनिक अदालतले फैसला सुनाएको हो।
गत साउन ७ गते भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमलडाँडामा हुद्दा भरत गुरुङको हत्या भएको थियो।