
काठमाडौँ – सरकारको बेवास्ताका कारण त्रिचन्द्र कलेजको अवस्था दयनीय बन्दै गएको छ। ०७२ सालको महाभूकम्पले भत्काएका भवन समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवन भत्किएर सकिने अवस्थामा पुगेका छन्।
भवन जीर्णोद्धार हुन नसक्दा विद्यार्थी जोखिम मोलेर पढ्न बाध्य छन्। त्रिचन्द्र क्याम्पस भूगर्भ शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षा पूर्ण रूपमा क्षतिग्रस्त भएर ढलेको छ।
उनले कलेजका भवनमा २० सेन्टिमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डर लाग्ने ठाउँमा अहिलेसम्म भवनको जीर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिरहनुपरेको बताए।
विभाग प्रमुख गजुरेलले भने, ‘यो भवनको दक्षिणपट्टि म्याथम्याटिक्सको कक्षा सञ्चालन हुने ठाउँ पूर्णरूपमा क्षतिग्रस्त भएर ढलेको छ, उत्तरपट्टिको भागमा भूगर्भ शिक्षण विभागको ठूलो प्रयोगशाला थियो, कक्षारुम, ल्याबरुम, जेनेरेटर राखेको रुम थियो, त्यो सबै क्षतिग्रस्त भएर ०७२ सालदेखि हामी त्यहाँ छिर्न सकेका छैनौँ, त्यहाँ धेरै ठूलो धाँजा छ, त्यो नापेर हेर्दा पनि कम्तीमा १५–२० सेन्टिमिटरको छ, त्यहाँ गयो भने कहिले खस्ला र हामीलाई पुर्ला भन्ने डर हुन्छ, अहिले हामी बसेको भवनमा पनि पानी चुहिएको छ जताततै, कक्षाकोठामा पानी चुहिएको छ, विद्यार्थीलाई पढाउनलाई धेरै कठिन छ, ०७२ को भूकम्पले क्षति भएपछि यो भवनमा रातो स्टिकर टाँसिएको थियो, केही समय यसलाई पूरै छाडेर सरस्वती सदनमा दुःखका साथ सञ्चालन गरेका थियौँ तर केही सीप नलागेपछि हामी यता सरेका हौँ।’
विभाग प्रमुख गजुरेलले औपचारिक र उच्च शिक्षा थालनी गरेको कलेजको अवस्था अहिले दयनीय रहेको बताए। उनले ०७२ सालको महाभूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कतैबाट पनि प्रवलीकरण गर्न नसक्नु दुःखद भएको बताए। विभाग प्रमुख गजुरेलले नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको बताएका छन्।