
बुटवल– नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले आगामी चुनावपछि पार्टीले आफ्नो वर्चश्व फर्काउने बताएका छन्।
पार्टी विभाजन भएपनि ठूलो शक्तिका रुपमा अझै पनि एमाले रहेको दावी गर्दै उनले आगामी चुनावपछि पनि एमाले ठूलो शक्ति रहने बताएका हुन्।
नेकपा एमालेले बुटवलमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भूसालले भने, ‘नेकपा एमाले यत्रो ठूलो शक्तिले लोकतान्त्रिक अभ्यासमा कटिबद्ध भयौँ भने २०७४ सालको बर्चश्व फर्काउँछौँ, फर्काउँछौं, फर्काउँछौँ।’
नेकपा एमाले समाजिक सांस्कृतिक रुपले समाजमा जरा गाडेको पार्टीको भूमिका अर्को कुनै पार्टीले पनि पूरा गर्न नसक्ने उनको दावी छ। भुसालले भने, ‘हामी पछारिएका छौँ, घाइते भएका छौँ। आन्दोलनका हिसाबले अप्ठेरोमा छौँ, तल खसेका छौँ तर अहिले पनि ठूलो शक्ति छौँ।’
एमाले पछरिएको भएपनि आत्तिन भने नहुने उनले बताए। उनले भने, ‘कमरेड साथीहरु हामी यो बीचमा भाँडिएका हौँ। यतिखेर घाइते भएका छौँ। अब सोच्नु पर्छ मबाट के गल्ती भएको थियो भनेर।’
उनले पार्टी विभाजन गरेर गएका माधव कुमार नेपालले पनि आत्मसमिक्षा गर्नु पर्ने बताए। ‘यही कुरा माधव कुमार नेपाललाई बताउन सकेनौँ। उहाँ आफैले नबुझेको होइन जस्तो लाग्छ तर किन बुझ्नुभएन?,’ उनले भने।