
काठमाडौँ- संगठनभित्र राजनीतिक हस्तक्षेपविरुद्ध ‘शून्य सहनशीलता’को नारा लगाउँदै आएका नेपाल प्रहरीका महानिरीक्षक-आइजिपी शैलेश थापालाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुले राष्ट्रपतिबाट प्राप्त हुने मानपदवीका लागि ‘काउन्टर अट्याक’ दिएका छन्।
प्रहरी प्रधान कार्यालयले मानपदवीका लागि सिफारिस नै नगरेका नामहरु राष्ट्रपति कार्यालयले संविधान दिवसका अवसरमा आइतबार निकालेको सूचीमा परेपछि प्रहरी नेतृत्व नै अचम्मित भएको छ। प्रहरी नायब महानिरीक्षक- डीआइजी बढुवाका लागि तयार भएर बसेका एसएसपीहरु आइजिपीले नाम नपठाए पनि राजनीतिक दबाबमार्फत मान पदवी पाउने सूचीमा परेका छन्।
स्रोतका अनुसार मान पदवी पाउने सूचीमा परेका एसएसपीमध्ये श्यामलाल ज्ञवाली, राजेश बास्तोला र बसन्त कुँवरको नाम मात्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। तर सिफारिसमै नपरेका एसएसपीहरु सूचीमा देखिएपछि प्रहरी संगठनभित्रको राजनीतिक हस्तक्षेप पुन: एकपटक छताछुल्ल भएको छ।
स्रोतका अनुसार मान पदवी पाउने सूचीमा परेकामध्ये एसएसपीहरु केदार ढकाल, पूजा सिंह, जनक भट्टराई, सुदीप गिरी, उमेशराज जोशी, नरबहादुर केसीको नाम प्रहरी प्रधान कार्यालयले सिफारिस नै गरेको थिएन।
बहालवाला दर्जामा रहँदा मानपदवी पाएमा बढुवा हुँदा त्यसबापत दुई अंक प्राप्त हुन्छ। तर बहालवाला दर्जामा बढुवा भएको एक वर्षपछि मात्र मानपदवीका लागि योग्य हुने व्यवस्था छ। २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु अहिले एसएसपी छन्। उनीहरुमध्येबाट एक जनाले भविष्यमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने छन्।
उक्त ब्याजबाट एसएसपी भएकामध्ये गत वर्ष दीपक थापा र किरन बज्राचार्यले मात्र मान पदवी पाएका थिए। उक्त ब्याचबाट पहिलो नम्बरमा एसएसपी भएका सन्दीप भण्डारीले यो दर्जामा आएयता मान पदवी पाएका छैनन्। ‘प्रहरी आफैले संगठनको छवि धूमिल पारे’, एक जना बहालवाला डीआइजी भन्छन्।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसमा सन्दीपको पनि नाम थियो। तर, बढुवाको महत्वपूर्ण समयमा आइपुगेको अवस्थामा अर्थपूर्ण हुने मान पदवीबाट उनलाई बञ्चित गरिएको छ। ‘ट्रयाक रेकर्ड’ राम्रो भएको भनेर चर्चा हुने गरेका टेकप्रसाद राईलाई पनि छुट्याइएको छ।
प्रहरी प्रधान कार्यालयले मान पदवी, विभुषण र अलंकारका लागि एक सय ४० जनाको नाम सिफारिस गरेको बुझिएको छ। एक सय १९ प्रहरी कर्मचारी मान पदवी, विभुषण र अलंकार पाउने सूचीमा छन्। यीमध्ये ६१ जना मानपदवी पाउने सूचीमा छन्। यीमध्ये २५ प्रतिशतभन्दा बढी सिफारिस नै नभएका रहेको स्रोत बताउँछ।
प्रहरी प्रवक्ता बसन्त कुँवरले भने यस विषयमा आफुलाई थाहा नभएको बताए।
एक वर्ष नपुग्दै अलंकार
नेपाल प्रहरीका एक बहालवाला एसएसपीले एसपी दर्जाबाट अलंकार पाउने भएका छन्। आइतबार निकालिएको सूचीअनुसार दिल्लीराज पन्तले अलंकार पाउने भएका हुन्। उनी गत चैतमा मात्र एसएसपीमा बढुवा भएका हुन्। यद्यपी अलंकार पाउने सूचीमा डिल्लीराज पन्त भनेर लेखिएको छ। यसमा उल्लेखनीय के छ भने एसएसपी भएको ७ महिना हुन लाग्दा पन्तलाई एसपीकै दर्जामा अलंकार दिन लागिएको छ।*
‘पन्त हाल एसएसपी छन्। उनी चैतमा बढुवा भएका हुन्। मलाई अरु कुरा थाहा भएन’, प्रहरी प्रवक्ता कुँवरले भने। बढुवामा अलंकारको अंकभार साढे एक अंक हुन्छ। बढुवा भएको ७ महिना भइसकेका व्यक्तिलाई अघिल्लै दर्जामा कसरी अलंकार प्रदान गरियो भन्नेबारे प्रहरी नेतृत्व नै अचम्मित देखिएको छ।
*यसअघि दिल्लीराज पन्त असावधनीबस निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा जोडिएकामा हामी क्षमापार्थी छौँ। -सम्पादक