
गरीबको “रेमिटेन्सले” चल्ने
अनि,
धनीले चाहिँ कर छल्ने
मेरो देशमा !
आफ्नै पेशा सधैँभरी
इमानसाथ गरौ भन्ने
कुनै पनि राजनीतिक दल (दलदल ?) को
‘फेरो’ नै नसमाउने
म त हजूर, असामाजिक !!
सक्काएर रोपनी का रोपनी खेत र बारी
फेरीरहने,
घर, घडेरी, गहना र सवारी
अनि,
कृषि क्रान्ति र समृद्धिको
‘गफ को भकारी’
चोक र चिया पसलमा बिसाउनेहरु पो सामाजिक !
खुरु खुरु कर्म गरौं
लुरु लुरु ‘शक्तिकेन्द्र’ नधाऔं न भन्ने
म त हजूर असामाजिक !!
न कुनै पद
न त पेशा र संस्थाको
मर्यादा छ !
नियम कानून पनि कस्तो
जस्को ‘नयाँ घर’ बन्छ
त्यतै डेरा सर्छ
(जे छ छदैछ )२
म त ठीक छु
(म बाहेक पो सवै बेठीक छ )२
भन्ने सामाजिक चरित्रका अगाडि
‘स्वचेतनाको’ पैरवी गर्ने
म त हजूर, असामाजिक !!!