
बुटवल– रुपन्देहीमा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ। आइतबार राति शुद्धोधन– ३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता ३ का अवदेश चमारको खुकुरी प्रहार गरी हत्या गरिएको हो।
उनको हत्या सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी गरेको रुपन्देही प्रहरीले जनाएको छ।
हत्याबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।
मादकपदार्थ सेवन गरेका मजदुरबीच भएको विवाद खुकुरी प्रहारको अवस्थासम्म पुगेको हुनसक्ने उनले बताए। रविले अवदेशलाई खुकुरी हानेपछि उनका बाबु गोपीचन्दलाई समेत खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका बाबु र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको थापाले जानकारी दिए।