
काठमाडौँ – नेकपा एमाले नेता विष्णु रिमालले आगामी पुस्ता श्रमजीवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताएका छन्।
मर्यादित कामका लागि विश्व दिवसको अवसरमा जिफन्टले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता रिमालले अघिल्लो पुस्ताले देशमा व्यवस्था परिवर्तनका लागि भूमिका खेलेको उल्लेख गर्दै आगामी पुस्ताले समाजमा श्रमजीवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताएका हुन्।
उनले श्रमजीवी अधिकारको हक, अधिकार र मर्यादामाथि राज्यले तलमाथि गर्न खोजे त्यसविरुद्ध एक भएर उठ्नुपर्ने बताए।
उनले भने, ‘श्रमजीवी वर्गसित राज्यले सोसल कन्ट्र्याक्ट गर्ने, श्रमजीवी वर्गसित रोजगारदाताले सोसल कन्ट्र्याक्ट गर्ने भन्दा पनि परमादेश जारी गर्ने र परमादेशबाट बनेको सरकारबीच सोसल कन्ट्र्याक्ट हुन थालेको छ। यदि, यस्तो खालको सोसल कन्ट्र्याक्टमा लाग्ने हो भने सम्भवतः मर्यादित काम त के लोकतन्त्र नै कहाँ पुग्छ भन्न सकिन्न। तपाईं हामी यसमा चनाखो बन्नुपर्छ।’
मर्यादित ठाउँबाट अमर्यादित काम हुन थाल्यो भने त्यसलाई मर्यादित बनाउन मिहिनेत गर्नुपर्ने उनले बताए। उनले भने, ‘अबको पुस्ताले समाजमा अब मर्यादित श्रमजीवी वर्गको स्थानलाई उचो बनाउन लाग्ने हो। यसमा कसैले तल–माथि गर्ने स्थिति आए तपाईं–हामी एक भएर उठ्नुपर्छ। एक भएर बोल्नुपर्छ । एक भएर यसका लागि लड्नुपर्छ।’
नेता रिमालले नेकपा एमाले श्रमजीवी वर्गको पक्षमा रहेको बताए। एमाले सरकारले श्रमिकको तलब वृद्धि गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने, स्वास्थ्य बिमा गर्नेलगायत महत्वपूर्ण काम गरेको उनले स्मरण गरे। कामलाई मर्यादित बनाउँदै समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको उनले औँल्याए।