
काठमाडौँ – कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनुपरेको बताएका छन्।
उनले जरुरी कानुनसमेत पास गर्न नदिने गरी प्रमुख प्रतिपक्ष दलले गैरजिम्मेवार ढंगले संसद् अवरुद्ध पारेपछि सरकारले विधेयक फिर्ता लिएर अध्यादेशको सहारा लिनुपर्ने अवस्था आएको दाबीसमेत गरे।
संसद् बैठकपछि शुक्रबार सञ्चारकर्मीसँग उनले भने, ‘प्रमुख प्रतिपक्ष दलले यति ठूलो अवरोध गरिरहेको छ। संसद् सुचारु गर्न दिने, राज्य सञ्चालनमा जरुरी कानुन पास गर्न दिने, जनताको जल्दाबल्दा समस्यालाई जनतामाझ पुर्याउन दिने। यसको खालको वातावरण नबनाउने। यो जनताप्रतिको, संसद्प्रतिको उत्तरदायित्व बिर्सेर जसरी भए पनि गैरउत्तरदायी ढंगले प्रमुख प्रतिपक्षले जुन अवरोध खडा गरिरहेको छ। त्यसैको परिणाम हो यो।’
त्यसैगरी, सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद शरत्सिंह भण्डारीले पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेकाले कानुन बनाउने काम अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे।
उनले संसदीय पद्धति, संसदीय मर्यादा र संसदीय अभ्यासविपरीत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई पंगु बनाउने काम गरिरहेको आरोपसमेत लगाए। शुक्रबार संसद्बाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीमाझ भने, ‘संसदीय पद्धति, संसदीय मर्यादा, संसदीय अभ्यासलाई भत्काउने काम सुरु भएको छ। संसदलाई पंगु बनाउने र डिफल्ट बनाउने काम सुरु भएको छ। यो असाध्यै चिन्ताको विषय हो र हामी यो विषयमा चिन्तित छौं।’
संसद् भनेकै विधान वा कानुन बनाउने ठाउँ भएको उनले बताए। उनले भने, ‘अहिले जुन किसिमको अन्योल र अराजकताको स्थिति आएको छ त्यसलाई चिर्न आएका अध्यादेशलाई प्रतिस्थापन गरेर संसद्बाट पास गर्नुको साटो फिर्ता लिइराखेको छ। यसले मुलुकलाई अधोगतितर्फ धकेल्छ।’