
बुटवल– बुटवलको मोतीपुरमा आइतबार भएको झडपमा परी घाइते भएका ४ जना प्रहरीलाई उपचारका लागि काठमाडौँ लगिएको छ।
सुकुम्बासीका नाममा समूह बनाएर घर–टहरा बनाएका समूहहरुसँगको झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए।
घाइतेमध्ये गम्भीर घाइते नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना प्रहरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई थप उपचारका लागि काठमाडौँ पठाइएको उनले बताए। यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
रुपन्देही प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५६ जना सुरक्षाकर्मी घाइते भएका छन्। जसमध्ये नेपाल प्रहरीका ३३ जना घाइते भएका छन्।
झडपमा परी घाइते भएका अरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।
आइतबार मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासी नाममा समूह बनाएर घरटहरा बनाएकाहरुसँग सुरक्षाकर्मीसँग झडप भएको थियो।
झडपमा परी ४ जना सर्वसाधारणको मृत्यु भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। त्यसपछि प्रशासनले सो क्षेत्रमा कर्फ्यु लगाएको छ। कर्फ्यु लगाएपछि सो क्षेत्र सुनसान बनेको छ।