काठमाडौैं – साढे ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले थुनछेकको फैसला सुनाउन लाग्दा छानबिन समितीले घटनाका मुख्य नाइके चुणामणी उप्रेती ‘गोरे’लाई पक्राउ गरेको छ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका संयोजक इश्वरराज पौडेलले भने- गोरेसँग प्रारभ्भिक सोधपुछ गर्दा यसअघि हामीले प्रतिवादी बनाएका सबैको आरोप प्रमाणित हुने अवस्था थप बलियो बनेको छ।गत फागुन १९ गते महानगरीय अपराध महाशाखाको टोलीले विराटनगरमा गाडीको डिकीमा राखेर लैजाँदै गरेको अवस्थामा सनम शाक्यको शव बरामद गरेको थियो।
सुन बेपत्ता बनाएको भन्दै गोरेले सनमलाई यातना दिएर हत्या गरेको अनुसन्धानमा खुलेको थियो। सरकारद्धारा गठित छानबिन समितीले यस घटनामा प्रहरीकै भुमिका शंकास्पद रहेको भन्दै महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई छानबिनमा तानेको थियो।
तीनै जनामाथि गोरेसँग शव ब्यवस्थापन गरी दिने सहमतीमा बार्गेनिङ गरेको आरोप छ। गोरेलाई जोगाउन खोजेको आरोप उनीहरुमाथी छ। तर यी आरोपित प्रहरी अधिकारीले भने गोरेलाई समात्नकै लागि उनीसँग दुई करोड रुपैयाँको बार्गेनिङ गरेको र यसबारे प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराएको दाबी गर्दै आएका छन्।
गोरेलाई समात्न पुगेको प्रहरी टोलीले लास मात्र बरामद गरेको थियो। गोरे भने फरार थिए। छानबिन समितीले गोरेलाई पक्राउ गर्न नसकेको र बेपत्ता सुनबारे समेत पत्तो पाउन नसकेको भन्दै आलोचना खेपेको थियो। गोरेको पक्राउले घटनाको वास्तविकता थाहा पाउन सजिलो हुने प्रहरी अधिकारी बताउँछन्।
‘ शव ब्यवस्थापनका लागि गोरेले प्रहरीसँग डिल भएको स्वीकार गरेका छन्’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘उनलाई पक्राउ गर्नै पर्ने दबाबमा हामी थियौं।’
छानबिन समितीले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी र सन हत्या प्रकरणलाई जोडेर संगठित अपराधमा अनुसन्धान गरिरहेको थियो। यसमा प्रहरीका बर्तमान तथा पुर्वगरी करिब एक दर्जन अधिकारीसहित ६५ जनालाई प्रतिवादी बनाएर गत बैशाख १९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्धा दर्ता भएको थियो।
‘अब गोरेले दिने बयानले धेरै कुरा खोल्ने छ। बेपत्ता सुन कहाँ छ भन्ने समेत थाहा पाउने सम्भावना छ’, अनुसन्धानका प्रहरी भन्छन्।

पक्राउ परेका सुन तस्करी गिरोहका मुख्य नाइके गोरे । तस्बिर : बर्षा शाह/देश सञ्चार
सबै तस्बिरहरु- बर्षा शाह/देश सञ्चार