
काठमाडौँ – मेयर कप भेट्रान फुटलब प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुखद नतिजा निकालेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापाले विजय युथ हेटौंडालाई ५–१ तथा अर्को खेलमा बुटवलले पश्चिम चितवनलाई १–० ले स्तब्ध बनाएको हो।
हेटौंडामाथि सानदार जित निकालेको झापाले जारी प्रतियोगितामा सुखद सुरुआत गरेको हो। झापाको जितमा नरेन्द्रमणि लिम्बूले ४ गोल गरे। श्यामकुमार गोलेको नाममा एक गोल रह्यो । हेटांैडाका कृष्ण शाक्यले एक गोल फर्काएका थिए।
यस जितसँगै समूह ‘ई’ को झापाले ३ अंक जोडेको छ। हेटौंडाको यो पहिलो हार हो। पहिलो खेलमा हेटौँडाले काभ्रे भेट्रान्सलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। हेटौंडाले २ खेलमा ३ अंक जोडेको छ।
यस्तै, बुटवलले पश्चिम चितवनलाई पराजित गर्दा यमु रानाको गोल निर्णायक बन्यो। प्रतियोगिताअन्तर्गत मंगलबार भएको अर्को खेलमा साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वार्ड नम्बर १४ लाई २–० ले हराएको छ। साइनिङको जितमा उमेश लामा र राजु दंगालले एक एक गोल गरे।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। आयोजकले २१ टिमलाई सात समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको छ।
प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।