
काठमाडौँ- इन्डियन प्रिमियर लिगको यो सिजनमा तीनवटा मात्र खेल खेल्न पाए पनि प्रभावशाली प्रदर्शन गरेर फर्केका नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो दिल्लीयात्रा अविस्मरणीय भएको बताएका छन्।
अन्तिमका तीन खेलमा खेल्ने मौका पाएर सानदार प्रदर्शन गरेका सन्दीप लामिछानेले नयाँ दिल्लीबाट मंगलबार अपराह्न फर्केपछि त्रिभुवन विमानस्थलमा भने, ‘ठूल्ठूला खेलाडीसँग खेले पनि नामसँग म कहिल्यै डाउन भइनँ।’
उनले आगामी सिजनमा मलगायत धेरै नेपाली खेलाडीलाई देख्न पाउँ भन्दै नेपालमा धेरै सिनियर खेलाडी भएको बताए।
उनले आगामी मे ३१ मा वेस्ट इन्डिजसँग हुन लागेको नेपालसँगको प्रतिष्पर्धामा राष्ट्रिय टोलीलाई फेरि गर्व गर्न लायक बनाउन पाउँ भनी चाहना पनि व्यक्त गरेका छन्।
आइपिएल यात्रामा आफूले धेरै सिक्न पाएको पनि उनले बताए। ‘धेरै सिक्न पाएँ, नेपाली क्रिकेटका लागि धेरै ठूलो कुरा हो,’ उनले भने।
उनले नेपाली क्रिकेटका पदाधिकारीहरु जिम्मेवार हुनुपर्ने र खेललाई गति दिनुपर्ने पनि बताए। ‘हामीमा पनि त्यो क्षमता छ तर पदाधिकारी जिम्मेवार हुनुपर्यो,’ उनले भने।
विमानस्थलमा उनको स्वागतका लागि क्रिकेटका पदाधिकारीहरुसँगै राष्ट्रिय टोलीका वरिष्ठ खेलाडीहरु पारस खड्का, ज्ञानेन्द्र मल्ललगायत उपस्थित थिए।