
काठमाडौँ – नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला गर्ने भएको छ।
महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने जानकारी दिएको हो।
मेलामा हस्तकलालगायत वस्तुको १ सय २० वटा स्टल राखिनेछ। मेलामा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाइबर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई वटा विधानमा प्रतियोगिता गरिने र ७० वर्ष नाघेका ज्येष्ठ कलाकार र हस्तकलाका वस्तु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई सम्मान गरिने हस्तकला महासंघले जनाएको छ।
यस्तै, मेलाको आकर्षणमा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, क्राफ्ट कम्पिटिसनलगायत रहेको १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनीका संयोजक रवीन्द्र शाक्यले बताए।
मेलाले नयाँ उद्यमी, व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नुको साथै हस्तकला र नेपाली संस्कृतिबीचको सम्बन्धलाई उजागर गर्न मद्दत गर्ने विश्वास लिइएको १८ औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रदर्शनीका संयोजक शाक्यले बताए।
मेलाको उद्देश्य नेपाली हस्तकलाको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नु, निर्यात व्यापार प्रवद्र्धन गर्नु, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा सम्बन्धको विकास गर्नु तथा विदेशी हस्तकला आयातकर्ता तथा उपभोक्तालाई नेपालमा एक निश्चित समयमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला हुन्छ भन्ने सन्देश प्रवाह गर्नु रहेको नेपाल हस्तकला महासंघले जनाएको छ।