
काठमाडौँ – झापा भेट्रान फुटबल क्लब र एफई खुमलटार भेट्रान्स क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेसँगै समूह चरणका खेल सकिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएका खेलमा झापाले काभे्र भेट्रान फुटबल क्लबलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्दा अर्को खेलमा खुमलटाले र साइनिङ सन फुटबल एकेडेमीलाई पनि समान ३–० गोल अन्तरले नै पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।
नकआउट चरणमा पुग्ने क्रममा झापाका विमल गुरुङ, अनुककुमार खड्गी तथा रमेश गुरुङले समान एक–एक गोल गरे। अनकु कुमारले आठौं मिनेटमा गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाएका थिए।
एकतर्फीजस्तो देखिएको खेलको ३७औं मिनेटमा रमेशले गोल गर्दा झापाले अग्रता २–० मा पु¥याएको थियो। त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा झापाले तेस्रो गोल गर्न सफल भयो। विमलले गोल गर्दै झापालाई ३–० को जित निश्चित गरेका थिए।
लगातार जित निकाल्दै झापा नकआउटमा प्रवेश गरेको हो। पराजित काभ्रे भेट्रान फुटबल क्लबको अघिल्लो चरणको यात्रा कठिन बनेको छ।
बिहीबारै सम्पन्न खेलमा खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान् थापाले एक–एक गोल गरे। यस जितसँगै समूह डी को खुमलटारले २ खेलमा ६ अंक जोड्यो। र, शीर्ष स्थानमा रहँदै खुमलटार नकआउट चरणमा पुगेको हो।
यसअघि भएको पहिलो खेलमा खुमलटारले ललितपुर–१४ लाई हराएको थियो। यस्तै, भेट्रान फुटबलअन्तर्गत दिनको तेस्रो खेलमा बुटवल भेट्रान फुटबल क्लब र चितवन भेट्रान फुटबल क्लबले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडे।
यस्तै, दिनको चौथो खेलमा पोखरा भेट्रानले झम्सीखेल युथ क्लबलाई ५–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएसँगै जारी प्रतियोगितामा समूह चरणका खेल समाप्त भएका छन्।
प्रतियोगितामा शुक्रबारदेखि नकआउट चरणका खेल हुनेछन्। सात समूहका शीर्ष ७ र एक टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए।
१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्। त्यस्तै, विधागत रूपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।