
काठमाडौँ – ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य विकासको प्रमुख मुद्दा सहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायलाई आकृष्ट गर्नु र दिगो सहरी विकास हासिल गर्न अवसरको खोजी र सहरी समाधानको चुनौती समाधान गर्ने रहेको बताए। उनले कात्तिक १४ गते बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने जानकारी दिए।
उनले भने, ‘यस वर्ष विश्व सहर दिवस राम्रो सहर, राम्रो जीवन रहेको छ र नेपालमा सुन्दर र सुखी जीवनको आधार, जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन तय गरिएको छ, हामी कात्तिक १४ गते सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा भौतिक उपस्थितिमै कार्यशाला गोष्ठी गर्नेछौँ।’
विश्व सहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा संकल्प स्थापित गरेबमोजिम पहिलो विश्व सहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो। नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो।