
काठमाडौँ – सनराइज क्यापिटल लिमिटेडको ११ औँ वार्षिक साधारण सभाले ४० प्रतिशत नगद लाभांश पारित गरेको छ।
काठमाडौँमा शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले सामान्य प्रस्तावअन्तर्गत ०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको हो।
साथै, उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको ४० प्रतिशत (करसहित) हुन आउने आठ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल सेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ, म्युचुअल फन्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाइजरीको कार्यसमेत सक्रिय रूपमा सञ्चालन गर्दै आमलगानीकर्तालाई सुदृढ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।
साथै, यस क्यापिटलले हाल सनराइज म्युचुअल फन्डअन्तर्गत सन्राइज फस्र्ट म्युुचुअल फन्ड तथा सन्राइज ब्लुचिप फन्ड योजना सञ्चालन गर्दै आएको छ।
सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले ०७७।७८ को मुनाफाबाट इकाइधनीलाई ५० प्रतिशत (करसहित)प्रतिफल वितरण गरिसकेको छ।