
काठमाडौँ – कन्नड अभिनेता पुनीत राजकुमारको अन्तिम संस्कार आइतबार गरिने भएको छ। पुनीतको बिहीबार हृदयाघातका कारण निधन भएको थियो।
आफ्नो पिताको मृत्युको खबर सुनेर उनकी छोरी वंदिता अमेरिकाबाट शनिबार भारत पुगेकी छन्। उनका लागि दिल्लीदेखि बैंगलोर पुर्याउन ‘स्टेट अर्थोरिटी’ ले एक विशेष विमानको व्यवस्था गरेको थियो। उनको परिवार शोकमा छ।
परिवारसँगै उनका फ्यान पनि शोकमा डुबेका छन्। उनीहरूले पुनीतको मृत्युलाई स्विकार्न नसकिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
कन्नडकै चामराजनगर जिल्लाका हनुर तालुकाको मारो गाउँमा ३० सालका एक व्यक्तिलाई पुनीतको मृत्युको खबर सुन्नेबित्तिकै हार्ट अट्याक आयो र मुनियप्पाको मृत्यु भयो। उनी किसान थिए।
यस्तै, बेलगाउँकै सिंदोली गाउँमा अर्को फ्यानको पनि हृदयाघातका कारण निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार पुनीतको निधनको खबर आएपछि बेलगाउँ जिल्लाकै अथानीका एक युवाले आत्महत्यासमेत गरे।
पुनीत कन्नडका ‘सुपर स्टार’ हुन्। उनको बिहीबार जिमखानामा वर्कआउट गर्ने बेला स्वास्थ्यमा समस्या आएको थियो। त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
पुनीतको पार्थिव शरीरलाई जनताको दर्शनका लागि कांतिरवा स्टेडियममा राखिनेछ। उनको अन्तिम संस्कार बैंगलोरमा राजकीय सम्मानका साथ हुनेछ।
पुनीत डा.राजकुमार रपर्वतम्माका पाँच सन्तानमध्ये सबैभन्दा कान्छा सन्तान हुन्। उनका श्रीमती र दुई छोरी छन्। उनको निधनका कारण राज्यमा सबै थिएटर बन्द गरिएका छन् भने फ्यान्सलाई सम्हाल्न विभिन्न क्षेत्रमा धारा १४४ लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।