काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिएका छन्।
अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसद्मा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता–कार्यकर्तालाई निर्देशन दिए।
नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजा गरेको एक कार्यक्रममा उनले सभामुख सापकोटाले सभामुखको गरिमा मात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भीर आरोपसमेत लगाए।
अध्यक्ष ओलीले एमालेविरुद्धको षड्यन्त्र सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दाबीसमेत गरे।
उनले प्रचण्डको निर्देशनमा उनले आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
अध्यक्ष ओलीले भने, ‘अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसद्मा पाइला टेक्न पाउँछन्? उनी कलंक हुन् संसदीय व्यवस्थाका। सभामुखको गरिमाको त कुरै छोडौं।’ उनले सभामुख सापकोटाको कुनै मर्यादा नभएको बताए।
उनले भने, ‘नेकपा एमालेविरुद्धको षड्यन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने। अनुपस्थित भएर संवैधानिक परिषद्मा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन।’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रूपमा चित्रण गरे। प्रचण्डले धक्का, छलाङ भनेर आफँैलाई महाविपत्तितर्फ धकेल्दै लगेको अध्यक्ष ओलीको दाबी छ।
उनले कांग्रेस महाधिवेशनसमेत गर्न नसक्ने गरी बूढो भएको टिप्पणी गरे। उनले ५ वर्षभित्र गरिसक्नुपर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रूपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्ति पार्टीको रूपमा उभ्याएको ओलीको भनाइ छ।
उनले कांग्रेसजस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दाबीसमेत गरे।
अध्यक्ष ओलीले भने, ‘पाँच वर्षभित्र गर्नुपर्ने गर्न नसक्ने। त्यसपछि ६ महिनामा गर्नुपर्ने। त्यो पनि गर्न नसक्ने। निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १४ वटा जिल्लामा कांग्रेसको अधिवेशन बाँकी छ। त्यो कुनै पनि हिसाबले कांग्रेसको रीति पु¥याउने कुरा हो। महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन नै गर्न नसक्ने हालतमा कांग्रेस बूढो भयो। अशक्त भयो।’
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाँडाकुँडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको पनि खण्डन गरे। उनले नयाँ नयाँ कथा हाल्ने नेताको रुपमा दाहाल रहेको उल्लेख गर्दै प्रधानमन्त्री हुँदा करोडौँको भाँडाकुँडा किनेको भन्ने कुरा सत्य नभएको बताए।
बरु आफूले घरबाटै लगेको भाँडामा खानेकुरा बनाएर खाएको उनको स्पष्टीकरण थियो।
अध्यक्ष ओलीले भने, ‘प्रचण्डले हाल्ने गर्छन् नि कथा! प्रचण्डले चितवन गएर के भनेछन् भने, मलाई डेढ लाखको खाटमा सुत्यो भनेर कुरा गर्ने केपी ओलीले भान्सको भाँडाकँुडा मात्रै करोडौंको किनेको रहेछ भनेर। मेरो भान्सामा त भाँडाकँुडा पनि आफ्नै हुन्थे। केको किन्नु सरकार बेकार। मलाई केही चाहिएको छैन। अब त्यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ। सेनाले खानुप¥यो होला। सेनालाई खाना पकाउनुप¥यो होला। त्यहाँ ग्यास खर्च भयो होला। अनि करोडौंको भाँडाकँुडाचाहिँ के गर्नु?’
अध्यक्ष ओलीले आफ्नो पार्टी एकताबद्ध रहेको दाबीसमेत गरे। उनले माधव नेपाललाई पार्टीभित्रै राख्नका लागि १० बुँदे सहमति गरेको पनि पटकपटक दोहो¥याए।