
काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताएका छन्।
रुपन्देहीमा आइतवार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्ति अनावरण कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनले विश्वमा नेपाललाई चिनाउने र नेपालीसँग जोड्ने काम गरेको धारणा व्यक्त गरे।
उनले बुद्धले शान्ति र अहिंसाका लागि दिएको सन्देश अहिले झनै मानवजातिका लागि सान्दर्भिक भएको बताए।
अध्यक्ष तिमिल्सिनाले अहिले पनि विभिन्न जातजाति, भाषाभाषी र धर्म, सम्प्रदायबीच हत्या, हिंसा भइरहेको भन्दै यस्तो हिंसा मानव जातिका लागि अस्वीकार्य हुनुपर्ने बताए।
उनले बुद्ध दर्शनको अद्वितीय गुण जीवन र प्रकृतिप्रतिको नवीनतम सोच भएको पनि उल्लेख गरे।
उनले भने, ‘आजभन्दा २ हजार पाँच सय वर्षअगाडि गौतम बुद्धले शान्ति र अहिंसाका लागि दिनुभएको सन्देश अहिलेको समयमा सिंगो मानव जातिका लागि अझ बढी सान्दर्भिक भइरहेको छ। लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, बुद्ध दर्शनको मुहान नै हो । बुद्ध दर्शनले बाह्य विश्वलाई नेपाललाई चिनाउने र नेपालीसँग जोड्ने काम पनि गरेको छ।’ बुद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नवीनतम् सोच भएको उनले बताए।
अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनलाई मानव सशक्तिकरणको दर्शनको संज्ञा दिए।
बुद्ध दर्शन व्यक्तिको अनुशासन र समाजको रुपान्तरण गर्ने प्रक्रिया रहेको पनि उनले बताए।
बुद्ध दर्शनको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु, न्याय, बन्धुत्व, शान्तिपूर्ण सह–अस्तित्व र मानवीय मर्यादामा आधारित विश्व व्यवस्था कायम गर्नु रहेको उनले बताए।
‘बुद्ध दर्शनलाई मानव सशक्तीकरणको दर्शन भन्न सकिन्छ। बुद्ध दर्शन मानवताको पूर्ण खोज हो। व्यक्तिको अनुशासन, रुपान्तरण र आफ्नो उदाहरणीय व्यवहारद्वारा समाजको रुपान्तरण गर्ने प्रक्रिया हो’, उनले भने, ‘यसको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु, न्याय, बन्धुत्व, शान्तिपूर्ण सह–अस्तित्व र मानवीय मर्यादामा आधारित विश्व व्यवस्था कायम गर्नु हो।’ अध्यक्ष तिमिल्सिनाले मानव–मानवबीच विभेद अन्त्यका लागि सबैको संगठित प्रयास हुनुपर्नेमा जोड दिए।