
काठमाडौँ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गरे।
‘बीपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमबीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्ति, कानुनविद्हरूसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या तत्काल समाधान गर्नु पर्दैैन? भनेर सरकारलाई प्रश्न गरे।
कानुनमन्त्री सो समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँ¥याएको बताए। उनले सारा न्यायाधीश, नेपाल बार, कानुनविद् एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलमाथि प्रश्नसमेत तेस्र्याए।
उनले भने, ‘न्यायालयमा सारा न्यायाधीश एकातिर छ। बुद्धिजीवीहरू एकातिर। संविधानविद्, कानुनविद् अर्काेतिर। यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छाड्दिनँ। केही नभए पनि एक्लै बेन्चमा बस्छु। कसको तागतमा? तैपनि कि आजसम्म पोलिटिकल पार्टीले उनीहरूको त कुरा छोडिदिऊँ, सकरार देशको प्रतिनिधि हो। प्रथम प्रतिनिधि हो देशको । सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्ति, कानुनविद्सँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन?’
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। उनले संविधानमा नभएको संसद् भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकामा असन्तुष्टि व्यक्त गरेका थिए। पूर्वराष्ट्रपति यादवले संविधान कार्यान्वयन गर्न दलहरू गम्भीर नभएकोमा चिन्तासमेत व्यक्त गरे।