
काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगमाथि प्रश्नचिह्न उठेको बताएका छन्।
नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगमाथि प्रश्नचिह्न खडा भएको बताए।
संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीसमेतले आफ्नो भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको उनको भनाइ छ।
राजनीतिक पार्टी जनताको भरोसाको केन्द्र भए पनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ। उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो संवाहक बनाउन आफू लागिपर्ने पनि बताए।
देशमा पार्टी व्यवस्थित रूपमा चल्नुपर्ने, संवैधानिक निकाय व्यवस्थित रूपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनले बताए।
‘आज संसद् चल्न नसकेर अस्ति भर्खरै संसद् स्थगन भएको छ। अदालतको त्यो अवस्था छ। अरू संवैधानिक निकाय त्यस्तै हालतमा छन्। राजनीतिक पार्टीको त्यो हालत छ। आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टी नै नेपाली जनताको भरोसाको केन्द्र हुन्। तर, राजनीतिक पार्टीको अवस्था के छ? कम्युनिस्ट पार्टीको हालत हामीले देखिहाल्यौँ। त्यत्रो दुई तिहाइ बहुमत ल्याएर पनि त्यो चकनाचुर भएर गइराखेको छ। नेपाली कांग्रेसले पनि जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेकामा म आफैँ पनि स्वीकार गर्छु, उनले भने, ‘नेपाली जनतालाई भरोसाको केन्द्र बन्ने भूमिका कांग्रेसले अझै पनि निर्वाह गर्न सकिरहेको छैन। त्यो नसकेको कुरा मलाई चिन्ता छ। म कांग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाउने, कसरी यो प्रजातन्त्रको दरिलो संवाहक बनाउने, कसरी लोकतन्त्रलाई मजबुद गराएर लोकतन्त्रको वारेस कांग्रेसलाई बनाएर र यो मुलुकमा लोकतन्त्रलाई सुनिश्चित गर्ने। यसका संस्था त्यहीअनुसार फङ्सनमा आउनुपर् यो। पार्टीको सञ्चालन, अधिवेशन व्यवस्थित रूपले चलेको हुनुपर्यो।’ राज्यसत्ता सिस्टममा चल्नुपर्ने उनले बताए। उनले भने, ‘देशको अदालत एउटा मर्यादामा रहेको हुनुपर्यो। आज यी सबै कुरामा कहीँ न कहीँ प्रश्न उठिरहेको अवस्था छ।’
वरिष्ठ नेता पौडेलले आफूले अहिले लोकतन्त्रको एजेन्डालाई बोकेर हिँडेको बताए। वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहे पनि राजनीतिक मुद्दामै अल्मल्निुपरेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चितता दिन काम गर्नुपर्ने उनले बताए।
‘मेरो एजेन्डा नै लोकतन्त्र हो। अहिले मेरो एजेन्डा नै लोकतन्त्र हो। फेरि पनि लोकतन्त्र एजेन्डा बनाउनुपर्नुमा यसमा मलाई दुःख लाग्छ। किनभने लोकतन्त्रको एजेन्डाको मुद्दालाई छिनोफानो गरेर त्यसलाई एउटा सुनिश्चिततामा गयौँ भने अब हामी आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने थियो, उनले भने, ‘ हामी अझै पनि राजनीतिक कुराकै टुंगोमा अल्मलिनुपर्ने यो दुःखद कुरा हो। तैपनि, अब यसमा हिम्मत हार्नु हुँदैन। हामी राजनीतिक व्यवस्थाको छिनोफानो भइसकेको कुरालाई सुनिश्चितता, यो आएको परिवर्तनलाई जोगाउने काम, आएको परिवर्तन र आएको व्यवस्था, यो व्यवस्थालाई सुनिश्चितता दिने काममा अहिले हामीले काम गर्नुपरेको छ।’
उनले नेपालको व्यवस्था अस्थिर हुनाको विडम्बना नेपालले भोगिरहेको बताए। वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ।