
काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार राति भएको खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
तीन खेल खेल्ने क्रममा दोस्रो जित हात पार्नेक्रममा न्युजिल्यान्डलाई स्कटल्यान्डविरुद्ध सहज भने रहेन। पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ७२ रन जोडेको थियो। न्युजिल्यान्डको पालीमा मार्टिन गुप्टिल एक्लैले ९३ रन बनाए। ग्लेन फिलिप्सले ३३ रन जोडे। गुप्टिलले ५६ बलमा ७ छक्का र ६ चौका प्रहार गरे।
स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५६ रन जोड्यो।
स्कटल्यान्डका लागि माइकल लिस्कले अविजिति ४२ रन जोडे। स्कटल्यान्डलाई अन्तिम ओभरमा २६ रन आवश्यक रहे पनि १० रन मात्र जोड्न सक्यो।
न्युजिल्यान्ड ३ खेलबाट ४ अंक जोडेर सुपर १२ को समूह दुईमा तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको पाकिस्तानको ४ खेलबाट ८ अंक छ।
दोस्रो स्थानमा रहेको अफगानिस्तानको पनि तीन खेलबाट चार अंक छ। ६ टोली रहेको समूहबाट शीर्ष दुई टोली सेमिफाइलन पुग्नेछन्। पाकिस्तानले अन्तिम चारमा स्थान बनाइसकेको छ।